धरान: सुनसरीका एमाले नेता एवं इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । 

आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं २ (क) बाट उनी प्रदेशसभा सदस्यको उम्मेद्वारका आकांक्षी हुन् । उनलाई माओवादी केन्द्रले उम्मेद्वार बनाउने भएपछि एमाले परित्याग गरि माओवादी प्रवेश गर्न लागेका हुन् । एमाले सुनसरीको पुर्वअध्यक्षसमेत रहीसकेका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरीको मेयरमा निवार्चित भएका थिए । उनी मेयरको कार्यकाल अवधिभर विवाद र चर्चामा आइरहे । 

चौधरी हाल काठमाण्डौं पुगेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी प्रवेश गराउने बताइएको छ । चौधरीले मिडियाहरुलाई आफु माओवादी केन्द्र प्रवेश गर्न लागेको स्वीकारोक्ति दिइसकेका छन् । इटहरीमा थारु समुदायमा चौधरीको पकड वलियो भएको मानिन्छ । माओवादीका नेताहरुका अनुसार चौधरीलाई उम्मेद्वार बनाउने लगभग सहमतिसमेत भइसकेको छ । उनी हाल एमालेको प्रदेश नं १ कमिटी सदस्य छन् ।