भोजपुर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि गृहजिल्ला भोजपुरबाट उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट शनिबार उम्मेदवारी दर्ता गरेका हुन् । उनले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गराएको सचिवालयले जानकारी दिएको छ । राईले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गरेका हुन् । उनी पार्टीको सचिव पनि हुन् । 

यसैगरि, भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गरेका छन् । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् । मुख्यमन्त्री राईले फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका संघीय लोकतन्त्र र गणतन्त्रविरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मंसिर ४ गते अनुमोदन गर्ने बताए ।