धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डीन (परीक्षा) पदमा डा. धनकेशर खड्का नियुक्त भएका छन् ।

प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा.खड्कालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले हिजो बुधबारदेखि लागु हुने गरी नियुक्त गरेका हुन् । उपकुलपति डा.गिरीले नवनियुक्त डा.खड्कालाई नियुक्ती पत्र प्रदान गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । सहायक डीनको पदावधि २ बर्षको हुन्छ । डा. भावेश कोइरालाको सहायक डीनको २ बर्षे कार्यकाल गत भदौ १८ गते पुरा भएपछि उक्त पद रिक्त भएको थियो ।

सहायक डीन डा.खड्का नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस उतीर्ण गरेका हुन् भने वीपी प्रतिष्ठानबाटै चर्म तथा यौनरोग बिषयमा एमडी उतीर्ण गरेका छन् । इटहरी १९ तरहराका स्थायी बासिन्दा रहेका डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका थिए । उनले आार्थिक बर्ष २०७५/७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समितिको संयोजकको भूमिका पनि कुशलतापुर्वक निर्वाह गरेका थिए ।