धरान: सुनसरी क्षेत्र नं १ मा विभिन्न पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार बनेकाहरुलाई किरात राई यायोक्खा सुनसरीले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
यायोक्खाले मंगलबार उम्मेद्वारहरुलाई एकै ठाउँमा उपस्थित गराएर किरात प्रदेश नामकरणको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । कार्यक्रममा एमाले जसपाबाट प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफ्नो पार्टी जसपा किरात प्रदेश लगायतका पहिचानयुक्त प्रदेशहरुको पक्षधर पार्टी भएको बताए । उनले आफ्नो पार्टीको बहुमत नहुदा पनि २ नम्बर प्रदेशको नाम मधेश प्रदेश राख्न सफल भएको उदाहरण दिदै प्रदेश १ को नाम राख्ने ऐतिहासिक क्षण गुमे पनि मंसिर ४ पछि निवार्चित प्रदेशसभाले नामकरण गर्ने विश्वास राखे । त्यसको लागि पहिचान पक्षधर नेताहरुलाई जनताले जिताउन आवश्यक भएको पनि उनले धारणा राखे ।
यस्तै, लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेद्वार मुक्साहाङ मेन्याङ्बोले प्रदेशको नामबारे आफ्नो पार्टीमा कुनै द्धिविधा नभएको बताए । उनले विगतमा जनयुद्धको बेला पार्टीले पहिचान र संघीयताको मुद्दा उठाएको साथै खम्बुवान, लिम्बुवान र पछि किरात प्रदेश पनि घोषणा गरेर व्यवहारिकरुपमा नै संघीयताको अभ्यास पनि गरेको बताए । प्रदेशको नाम किरात राख्ने बिषयमा वा विकल्पहरुमा पनि धेरै गृहकार्य भएको तर सफलता प्राप्त नभएको स्मरण गगर्दै उनले यायोक्खाको किरात प्रदेश नामकरणको अभियानप्रति आफु स्पष्ट रहेको पनि बताए ।
भिडियो:
लोकतान्त्रिक बाम गठबन्धनबाट प्रदेशसभा १ (ख) मा नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापाले ऐतिहासिक पृष्ठभुमी, सभ्यता र पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने कुरामा कांग्रेस र गठबन्धनको धारणा स्पष्ट रहेको बताए । उनले ५ बर्षअघि प्रदेशसभामा बाम गठबन्धनलाई दुई तिहाई बहुमतले जिताए पनि नामकरण गर्न नसकेको आरोप लगाए । त्यसबेला प्रतिपक्षमा रहेको कांग्रेसको संसदीय दलले पहिचान भेटिने, द्धन्द मेटिने गरि प्रदेशको नामकरण गर्नुपर्छ भन्ने स्पष्ट धारणा राखेको उनले बताए ।
आफ्नो दुईतिहाईको सरकार हुँदा नामकरण गर्न नसक्ने एमालेले पछि नामकरणको लागि दबाब दिनु द्धैत चरित्र प्रष्ट देखिएको बताए । आफु विजय हुनेमा ढुक्क रहेको भन्दै थापाले पराजित भइहाले पनि पार्टीको प्रदेश महामन्त्री संसदीय दलको पदेन सदस्य भएको नाताले १ नम्बर प्रदेशको नामकरण पहिचानलाई आधार बनाएर द्धन्द पनि मेटिने, पहिचान पनि भेटिने गरि नामकरण राख्नुपर्छ भनेर संकल्प प्रस्ताव राख्ने बताए । उनले आफुले राजनीति गर्नलाई मात्र नबोलेको जिकिर गर्दै प्रतिवद्धता गर्दे गर्दा जवाफदेहिता र इमान्दारिता हुनुपर्नेमा आफु प्रष्ट रहेको बताए ।
यसैगरि, प्रदेशसभा १ (क) मा एमालेका उम्मेद्वार रमेश बस्नेतले पहिचानको आधारमा नामकरण भन्ने पार्टीले विगतमा सप्तकोशी प्रदेशको प्रस्ताव सर्वदलीय बैठकमा लगेको उल्लेख गर्दै आफ्नो पार्टी एमाले बहुपहिचानको पक्षमा रहेको बताए । उनले किरात कुनै जातजाति नभएकोले सभ्यताको मान्यता दिएर यसको आधारमा अघिबढ्नुपर्छ भन्ने कुरामा एमाले प्रष्ट रहेको जिकिर गरे । प्रदेशको नामकरण किरात प्रदेश राख्नुपर्छ भनेरमा आफु जस्तो सुकै अभियान चलाउनको लागि व्यक्तिगतरुपमा तयार रहेको उनले बताए ।
साथै, यहाँका विभिन्न साँस्कृतिक पहिचानका कुराहरु, पछाडि पारिएका जाति, धर्म, लिंग, सँस्कृतिका बिषयमा आवाज उठाउनको लागि आफ्नो भुमिका रहने उनले बताए । पछाडि पारिएका समुदायको हितको लागि सकरात्मक विभेद आवश्यक पर्ने भन्दै उनले पछाडि पारिएका जाति, भाषा, धर्म, लिंग, क्षेत्रको उन्नति र प्रगतिको लागि, समान अवसर प्राप्त गर्नको लागि केही फरक ऐन, कानुन ल्याएर अगाडि बढाउन प्रयत्न गर्ने पनि बताए । विभिन्न जातजातिका भाषाभाषीका अधिकार र बुहसंख्या रहेका भाषिक समुदायको लागि सरकारी कामकाजको भाषा बनाउनुपर्छ भनेर प्रदेशसभामा आवाज उठाउने पनि उनले बताए ।
यसैगरि, प्रदेशसभा १ (ख) मा एमाले उम्मेद्वार विजयकुमार राईले किरात जाति नभै सभ्यता र इतिहास भएपनि नामकरण गर्ने बेला यो आवाज गौण हुने गरेको बताए । उनले अब पार्टीका शीर्ष नेताहरुको मानसिकता परिवर्तन गर्न सकिए मात्र किरात प्रदेशको बिषयमा छलफल हुनसक्ने पनि बताए । नेकपा एमाले बहुपहिचानको आधारमा नामकरण गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले किरात जातिय पहिचान नभएको बताए । उनले पनि किरात बहुपहिचान, सम्भ्यता र इतिहास भएपनि यो नाम राख्दा १ नम्बर प्रदेशको धेरै मानिसहरु मनोवैज्ञानिकरुपमा हाम्रो हार हुन्छ भन्ने मानसिकता बोकेको पनि बताए । उनले किरात प्रदेश हुदैमा किरातीहरुले मात्र शासन नगर्ने पनि बताए ।
यस्तै, प्रदेशसभा १ (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रेवतीरमण राईले किरात सभ्यता, इतिहास, सँस्कृति र भुगोल भएकोले आफु सदनमा एक्लै भएपनि किरात प्रदेशको पक्षमा उभिने बताए । उनले यायोक्खाले किरात प्रदेश नामकरणको मुद्दा उठाइरहदा अन्य जाति, समुदायको पनि उतिकै सम्मान गरिरहेको बताए ।
भिडियो: