धरान: नेकपा एमालेले प्राथमिकता मिचेर निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेद्वारको नाम सच्याएको छ । 

आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका हुन् । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको नाम कायम गर्न अनुरोध गरिएको छ । कायस्थ समावेशी समुहभित्र (अल्पसंख्यक)को क्रमसंख्या ८ मा रहेकी छिन् । 

एमालेले समानुपातिकतर्फ कायस्थभन्दा क्रमसंख्यामा मुनि रहेकी जिमीलाई प्रदेशसभा सदस्यको लागि सुची पठाएको थियो । आयोगले भने जिमीसहित अन्यको पनि नाम सच्याएर पठाउन भन्दै पत्राचार गरेपनि सोमबार एमालेले आफुले पठाएको सुची यथावत रहेको भन्दै जवाफ पठाएको थियो । तर, मंगलबार पुनः आयोगले समानुपातिकतर्फ नाममा त्रुटी भएकोले त्यसलाई सच्याउन केही घण्टा समय दिएको थियो । आयोगले दोस्रो पटक पत्राचार गरेपछि मात्र एमालेले नाम सच्याएर पठाएको हो ।