धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ दिने इन्डो सार्क कन्फ्रेन्सको तयारी भइरहेको छ । 

प्रतिष्ठानको ग्याष्ट्रो इन्ट्ररलोजी, ग्याष्ट्रो सर्जरी र जनरल सर्जरी गरि ३ वटा विभागको संयुक्त आयोजनामा चिकित्सकहरुको सम्मेलन हुन लागेको हो । आयोजक कमिटीका अध्यक्ष एवं प्रा.डा. शैलेश अधिकारी अनुसार यो सम्मेलन शनिबार र आइतबार हुनेछ । सर्जिकल इन्डोस्कोपीको चुनौतीहरुबारे कार्यक्रममा वृहत छलफल हुनेछ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, वंगलादेश र श्रीलंकाबाट ग्याष्ट्रो इन्टरलोजी, ग्याष्ट्रो सर्जरी र जनरल सर्जरीका चिकित्सकहरु सहभागी हुने पनि उनले बताए ।

सम्मेलनमा आमासय, आन्द्रा, कलेजो, पित्तथैली, पित्तथैलीको नली, प्यांक्रियाज, मलद्धारमा हुने विभिन्न रोगको पहिचान र उपचारबारे वृहतरुपमा चिकित्सक तथा विद्यार्थीहरुबीच छलफल हुनेछ । यस्तै, उपचारको क्रममा हुने जटिलताहरुलाई दुरविन प्रविधिबाट कसरी हल गर्न सकिन्छ भनेर पनि छलफल हुने डा.अधिकारी जानकारी दिए । ‘विश्वमा आएको नयाँ दुरविन प्रविधि र त्यसबाट भइरहेको उपचार बारेमा पनि कार्यक्रममा छलफल हुनेछ,’डा.अधिकारीले भने,‘विश्वमा नयाँ नयाँ प्रविधि र उपचार पद्दती कसरी भइरहेको छ भनेर एकअर्काबीच ज्ञान, अनुभव बाँडफाँड हुन्छ ।’

कार्यक्रममा चिकित्सकहरुले अनुसन्धान पत्र पनि प्रस्तुत गर्नेछन्, र त्यसमाथि पनि छलफल हुनेछ । यसले कार्यक्रममा सहभागी सबै चिकित्सक, विद्यार्थीहरुलाई फाइदा पुग्ने आयोजक कमिटीका सचिव डा.कुनाल बिक्रम देवको भनाई छ । ‘जटिलताहरु आउदा कसरी ट्याकल गर्ने, संसारमा नयाँ नयाँ के भइरहेको छ भनेर आइडियाहरु सेयर हुन्छ,’डा.देवले भने,‘एकअर्कामा ज्ञान सेयर हुन्छ । विद्यार्थीहरुलाई पनि झनै फाइदा पुग्छ ।’ कार्यक्रममा भच्र्युल प्रस्तुती र सहभागीता पनि हुने आयोजकले जनाएको छ । यो कार्यक्रममा सहभागीता जनाउने चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलबाट १० सिपिडी पोइन्ट पनि पाउने आयोजकले जनाएको छ ।