धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेक्टर (शिक्षाध्यक्ष)मा प्रा.डा.सञ्जिवकुमार शर्मा नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री भवानी खापुङले डा.शर्मालाई रेक्टरमा नियुक्त गरेका हुन् । प्रा.डा.गुरु खनालको कार्यकाल सकिएपछि रेक्टर पद रिक्त थियो । बरिष्ठ चिकित्सक डा.शर्माको नियुक्तीसँगै प्रतिष्ठानमा चारै जना पदाधिकारीहरुले पुर्णता पाएको छ । नवनियुक्त रेक्टर डा.शर्मालाई आजै बिहान साढे ८ बजे कार्यालयमा स्वागत कार्यक्रम राखिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनले भने,‘रेक्टरमा प्रा.डा.सञ्जिव शर्मा नियुक्त हुनुभएको छ । उहाँलाई आजै बिहान ८ः३० बजे कार्यालयमा स्वागत कार्यक्रम राखिएको छ ।’

प्रा.डा.शर्मा वरिष्ठ मुटु रोग, मृगौला रोग र सर्पदंशका बिशेषज्ञ हुन् । अन्तराष्ट्रियरुपमा ख्याती कमाएका उनी सेवाग्राहीबीचमा पनि चर्चित डाक्टर हुन् । केएचडिसि कार्यक्रम मार्फत उनले वस्ती वस्तीमा पुगेर निःशुल्क उपचार सेवा पुर्याउने गरेका छन् । समुदायस्तरमा पुगेर गरिने यो कार्यक्रमले मृगौला, सुगर, प्रेसर, उच्च रक्तचापबाट सर्वसाधारणहरुलाई सचेत गराउनुका साथै रोग लाग्नबाट जोगाउन महत्वपुर्ण योगदान पुर्याएको छ ।