धरान: सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्र हत्या गर्ने समुह तथा व्यक्तिहरुविरुद्ध धरानका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।
वडाअध्यक्ष भट्टराईले हिजो (बुधबार) नेपाल प्रहरीको काठमाण्डौंस्थित साइबर ब्युरोमा नै पुगेर उजुरी दर्ता गराएका हुन् । कार्यपालिका बैठकको बिषयमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच तिक्तता बढ्दै जादा मेयर हर्क साम्पाङका समर्थकहरुले वडाअध्यक्षहरुविरुद्ध सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने गरि गालीगलौज तथा तस्विरहरु पोष्ट गर्ने गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी वडा नं १७ का अध्यक्ष भट्टराई निसानामा परेका छन् ।
उनी नगर कार्यपालिकाका प्रवक्ता पनि हुन् । मेयर साम्पाङसँगको विवादमा प्रवक्ताको हैसियतमा उनले नै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको धारणा र माग सञ्चारकर्मीहरु समक्ष व्यक्त गरेपछि उनी तारो बनेका हुन् । कार्यपालिका बैठकमा पनि मेयर साम्पाङले ल्याएको एजेण्डाबारे आफ्नो धारणा वा फरकमत भए प्रष्टसँग राख्ने गरेका छन् । त्यसले पनि मेयर साम्पाङका समर्थकहरु उनीप्रति सकरात्मक छैनन् ।
काठमाण्डौंमा रहेका वडाअध्यक्ष भट्टराईले टेलिफोन सम्पर्कमा राजनीतिक आलोचना र बहस सहने भएपनि मानवीय संवेदनाहिन टिप्पणी हुने, व्यक्तिगत चरित्र हत्या गर्ने गरि म्यासेज पठाउने, फोटो इडिट गर्दै पोष्ट गर्ने र फोन गरेर गालीगलौज पनि गर्न थालेपछि साइबर ब्युरोमा उजुरी दिएको बताए । उनले भने,‘म्यासेन्जरमा अति नै गालीगलौज आयो । व्यक्तिगत चरित्र हत्या गर्ने गरि पोष्ट गर्ने, विना प्रमाण आरोपहरु लगाउने, फोनमा गाली मात्र गर्ने र फोन काट्ने, फेरि गर्दा सिमकार्ड नै फाल्ने गरेपछि कानुनी कारबाहीको प्रक्रियामा आएको हुँ ।’
वडाअध्यक्ष भट्टराईका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको केही ग्रुपका एडमिन र केही व्यक्तिहरुविरुद्ध उजुरी दर्ता भएको छ । ‘व्यक्तिको नाम, गु्रप पनि गर्दा ६ जना जति छन् । अति नै हुनथालेपछि बाध्य भएको हो,’उनले भने,‘राजनीतिक आलोचना, बसह सहन्छौं, तर मानवीय संवेदनाहिन, उच्छृंखल कार्य हुन थाल्यो ।’
विगत तीन महिनादेखि धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच तिक्तता बढ्दै गएको छ, र कार्यपालिका बैठक पनि बस्न सकेको छैन । मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई बाहिर जानु भन्ने अभिव्यक्ति दिएपछि भाँडिएको बैठक त्यसयता ३ पटक बोलाइए पनि हुन सकेको छैन ।
मेयरले कार्यपालिका सदस्यको अपमान हुने गरि गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको माग छ भने मेयर साम्पाङ कुनै हालतमा माफी नमाग्ने अडानमा छन् । समस्याको निकास निकाल्न दुवै पक्षबीचमा संवादसमेत हुन सकेको छैन । यही बिषयले सामाजिक सञ्जालमा मेयर साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीच आरोप प्रत्यारोपको दोहोरी छ ।