धरान: नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएको छ । 

आज विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले कार्कीलाई सर्वसम्मत चयन गरेको हो । कार्की एमाले स्थायी कमिटी सदस्य हुन् भने झापा निर्वाचन क्षेत्र नं ५ (१) बाट प्रदेशसभा सदस्यमा निवार्चित भएका हुन् । बैठकले एमाले प्रदेश १ संसदीय दलको विधान २०७७ लाई अनुमोदन गरेको पनि सांसद रेवतीरमण भण्डारीले जानकारी दिए । 

बैठकमा कार्कीलाई संसदीय दलको नेतामा तिलकुमार मेन्याङबो प्रस्तावक र आफुले समर्थक भएर प्रस्ताव गरेको र सर्वसम्मत चयन भएको पनि उनले बताए । यस्तै, बैठकले प्रदेश १ सरकार गठनको लागी छलफल तथा पहल गर्न नेता कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली पनि गठन गरिएको सांसद भण्डारीले जानकारी दिए ।