धरान: भोली सोमबार दिउँसो २ बजे धरानको कार्यपालिका बैठक हुने निश्चित भएको छ ।

उपमेयर अइन्द्रबिक्रम बेघाको समन्वयमा मेयर हर्क साम्पाङ र कार्यपालिकामा संसदीय दलका नेता रहेका वडाअध्यक्षहरुबीच संवाद भएपछि बैठक सुचारु गर्ने सहमति भएको हो । संवाद राम्रो र परिणाममुखी भएको प्रतिक्रिया दिदै उपमेयर बेघाले निकासको लागी सबै राजनीतिक दल, वडाअध्यक्षहरुलाई धन्यावद दिए । साथै उनले संवाद गर्न र कार्यपालिका बैठक सुचारु गर्ने वातावरण तयार गर्न मेयर साम्पाङले पनि महत्वपुर्ण र सकरात्मक भुमिका निर्वाह गरेको भन्दै आभार व्यक्त गरे ।

‘संवाद एकदमै राम्रो र सकरात्मक भयो । यतिका दिनको अथक प्रयास र मेहनतले परिणाम निस्केको छ,’बेघाले भने,‘सहयोगको निम्ति राजनीतिक दल, अध्यक्ष ज्युहरुलाई धन्यवाद । मेयर साबले पनि निकासको लागि वातावरण बनाउन भुमिका निर्वाह गर्नुभयो, आभार प्रकट गर्न चाहन्छुँ ।’ मेयर साम्पाङसँगको छलफलमा उपमेयर बेघा, वडा १५ का अध्यक्ष नरेश इवारम र वडा १८ का अध्यक्ष राई सहभागी थिए । वडा नं १५ का अध्यक्ष इवारम एमालेबाट संसदीय दलका नेता हुन् भने वडा नं १८ का अध्यक्ष राई कांग्रेसबाट संसदीय दलका नेता हुन् । 

संवादमा सबै पक्षले विगतमा भएको कमीकमजोरीलाई स्वीकार गर्दै कार्यपालिका बैठकलाई व्यवस्थितढंगबाट सञ्चालन गर्ने समझादारी भएको छ । बैठकमा शुरुमा मेयर साम्पाङले धारणा राख्नेछन् । त्यसपछि उपमेयर बेघाले आफ्नो कुरा राखेपछि वडाअध्यक्षहरुकोतर्फबाट नरेश इवारम र नरेन्द्रकुमार राई (प्रविण)ले पनि बोल्नेछन् । त्यसपछि मात्र बैठकको एजेण्डामा प्रवेश गर्ने उपमेयर बेघाले जानकारी दिए ।

वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले पनि संवाद अत्यन्तै सौहार्दपुर्ण र सकरात्मक भएको बताए । ‘आज मेयर ज्युले अभिभावकीय भुमिका निभाउनुभयो । झण्डै एकघण्टा जति बस्यौं, धरानको विकासको लागि एकजुट भएर जाने कुरामा सबै सहमत भएका छौं,’उनले भने,‘सबै पक्षले कमीकमजोरीलाई सच्याएर जानुपर्छ । भोली कार्यपालिका बैठक बस्छ ।’