धरान: गत असोज १३ गते भाँडिएको धरानको कार्यपालिका बैठक त्यसयता बस्न बसेको छैन ।

एजेण्डामाथि आफ्नो धारणा राखिरहेका कार्यपालिका सदस्य अनुप देवानलाई मेयर हर्क साम्पाङले बाहिर जानु भनेर अपमान गरेको भन्दै बैठक विथोलिएको थियो । यो घटना पछि मेयर साम्पाङ र कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुबीच सम्बन्ध चिसिएको छ भने कार्यपालिका बैठक बस्न सकेको छैन । मेयर साम्पाङले माफी माग्नुपर्ने वा अभिव्यक्ति फिर्ता लिनुपर्ने अडानमा छन्, कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु । यता, मेयर साम्पाङ पनि आफुले गल्ती नगरेको कारण माफी नमाग्ने अडानमा छन् । 

दुवै पक्षमा अविश्वास गहिरिदै जादा मेयर साम्पाङले सोमबार पुनः दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट र शुक्रबार धरान ५ तल्लो देउरालीमा आयोजित लागुपदार्थविरुद्धको अभियान कार्यक्रममा बैठक बोलाएको जानकारी दिएका थिए । 

उक्त कार्यक्रममा मेयर साम्पाङले सोमबार २ बजे बैठक बोलाएको जानकारी दिदै सम्पुर्ण वडाअध्यक्षहरुलाई उपस्थित भएर निकास दिन आह्वान पनि गरेका थिए । ‘हामीले राजनीतिक इगो, राजनीतिक आग्रह, पुर्वाग्रह राख्नुभन्दा पनि धराने जनताको भविष्य, सुशासन र धराने जनताको सेवा सुविधा, दिर्घकालिन विकासको लागि हामी सबै जना उतिकै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’ मेयरले आह्वान गर्दै भनेका छन् ।

बैठकमा आउन मेयर साम्पाङले आह्वान गरेपनि बैठक हुन्छ कि हुदैन भन्ने अन्योल कायमै छ । दुवै पक्ष आ आफ्नो अडानमा मात्र छैनन्, यतिका समय वितिसक्दा पनि संवादसमेत हुन सकेको छैन । मेयर साम्पाङले बैठक बोलाउने तर समस्याको गाँठो फुकाउन चासो नदिएको वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको भनाई छ । ‘सोमबार २ बजेको बैठक बोलाएको पत्र पाएका छौं, तर कुराकानी, सल्लाह केही भएको छैन । हामी बैठकमा आउने वातावरण पहिला तयार हुनुपर्छ,’वडा नं १५ का वडाअध्यक्ष नरेश इवारमले भने,‘हाम्रो केही छैन, उहाँ अभिभावक नै हो । असोज १३ गतेको घटनामा हामी ४,५ जनालाई बोलाएर केही तलमाथि हुन आयो, आफु आफु मःम गरेर जाउ न त भन्दा भइहाल्ने कुरा हो ।’

अझै आइतबार एक दिन समय बाँकी नै भएकोले मेयर साम्पाङ सहकार्य र समन्वयको बाटोमा आउने आशा उनले व्यक्त गरे । ‘एक दिन बाँकी नै छ, हेरौं । यो कसैको हार जितको कुरा छैन । सहकार्य, समन्वय गर्ने कुरा नै हो,’उनले भने,‘पहिला आन्तरिक सल्लाह गरेर जाउ भन्ने हाम्रो सोच हो, उहाँले चासो दिनुभएको छैन ।’