धरान: नेपालकै नम्वर वान गल्फ खेलाडी शुक्रबहादुर राई धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा शीर्षस्थानमा उक्लिएका छन् ।
दोस्रो दिन बुधबार पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल समाप्ती हुँदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्षस्थानमा उक्लिएका हुन् । बुधबार उनले ६ अण्डर ६६ स्कोरको कार्ड बनाए । फ्रन्ट नाइनमा ४ अण्डर ३२ र ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाएका थिए । पहिलो दिन मंगलबार भने उनले ४ अण्डर ६६ स्कोर गर्दै सञ्जय लामासँग संयुक्त दोस्रो स्थानमा थिए ।
शुक्रसँगै ४ स्ट्रोकले पछि परेका निरज तामाङ कुल ६ अण्डर १३४ स्कोरका साथ दोस्रो स्थानमा छन् । बुधबार उनले १ अण्डर ६९ स्कोर खेलेका थिए । उनी पहिलो दिनको खेल सकिदा भने ५ अण्डर ६५ स्कोरका साथ शीर्षस्थानमा रहेका थिए । उनले बुधबार फ्रन्ट नाइनमा २ अण्डर ३४ र ब्याक नाइनमा १ ओभर ३५ खेलेका थिए ।
यस्तै, बुधबार इभन पार ७० स्कोर खेलेका सञ्जय लामा कुल ४ अण्डर १३६ स्कोरका साथ तेस्रो स्थानमा छन् भने कुल ३ ओभर १३७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन् । बुधबार उनले इभन पार ७० स्कोर खेलेका थिए । कुल १ अण्डर १३९ स्कोर गरेका धनबहादुर थापा पाँचौ स्थानमा छन् । एमेच्योरतर्फ कुल २ अण्डर १३८ स्कोरका साथ स्थानीय गल्फर राजकुमार राई पहिलो स्थानमा छन् । बुधबार उनले ३ अण्डर ६७ स्कोर खेलेका थिए । यस्तै, ४ ओभर १४४ स्कोरका साथ युवराज भुजेल एमेच्योरतर्फ दोस्रो स्थानमा छन् ।
बुधबार ३६ होलको खेल सकिदा २१ औं स्थानसम्म रहेका खेलाडीहरु मात्र कट जोगाउन सफल भएका छन् । कट जोगाउन सफल ६ जना एमेच्योर खेलाडीसहित कुल २७ जना खेलाडीहरु मात्र तेस्रो दिन (बिहिबार) प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद १ लाख ४० हजार, दोस्रो हुने खेलाडीले ९० हजार, तेस्रो हुने खेलाडीले ५० हजार पाउनेछन् ।