धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ११ जना एमेच्योर खेलाडीसहित ४० जना सहभागी छन् । तीन दिन मुख्य स्पर्धा हुनेछ भने चौथो दिन प्रो एम म्याच हुनेछ । प्रतियोगिताको विजेता प्रोफेस्नल खेलाडीले ट्रफीसहित नगद १ लाख ४० हजार जित्नेछन् भने कट जोगाउन सफल प्रोफेस्नल खेलाडी सबैले नगद पुरस्कार पाउनेछन् । पुरस्कारको कुल राशी ८ लाख छुट्याइएको प्रोफेस्नल गल्फर एशोसिएशनले जनाएको छ ।

पहिलो दिन निरज तामाङ शीर्षस्थानमा

niraj-tamang2

प्रतियोगिताको पहिलो दिन धरानका युवा प्रोफेस्नल गल्फर निरज तामाङले उत्कृष्ट खेल्दै शीर्षस्थानमा रहेका छन् । पार ७० को कोर्षमा उनले मंगलबार ५ अण्डर ६५ को कार्ड बनाए । 

फ्रन्ट नाइनमा उनले नवौं होलमा इगल गर्दै २ स्ट्रोक जोगए भने दोस्रो, तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा पनि बर्डी खेल्दै स्ट्रोक जोगाएका थिए । यस्तै, ब्याक नाइनमा १० औं, ११ औं र १२ औं होलमा पनि बर्डी गरे । निजरले फ्रन्ट नाइनमा ८ औं होलमा बुगी खेपे भने ब्याक नाइनमा १३ औं, १४ औं, १७ औं र १८ औं होलमा पनि बुगी खेपेका थिए । निरज १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट गल्फमा स्वर्ण पदक जित्ने खेलाडी पनि हुन् । पहिलो दिन १८ होलको खेल सकिएपछि शीर्ष स्थानमा रहेका निरजले प्रतिक्रिया दिदै अपेक्षा गरेभन्दा राम्रो खेल भएको बताए । उनले पटिंगले साथ दिएको र दोस्रो दिन पनि पहिलो दिनकै जस्तो राम्रो खेल्ने बताए ।

niraj1

निरज भन्दा एक स्ट्रोकले पछि परेका धरानकै युवा गल्फर शुक्रबहादुर राई र सञ्जय लामा समान ४ अण्डर ६६ स्कोरका साथ संयुक्तरुपमा दोस्रो स्थानमा छन् । यसैगरि, ३ अण्डर ६७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन् भने पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले लेभर पार ७० को कार्ड बनाएका छन् । उनले फ्रन्ट नाइनमा २ ओभर ३८ को कार्ड बनाउदा ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । 

समान २ ओभर ७२ स्कोरका साथ रवि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति र वलभद्र राई (मणी) संयुक्त छैटांै स्थानमा छन् । यसैगरि, एमेच्योरतर्फ भने धराने खेलाडी राजकुमार राई १ ओभर ७१ स्कोरका साथ पहिलो स्थानमा छन् । दोस्रो स्थजानमा धरानकै खेलाडी रुपेन गुरुङ ३ ओभर ७३ स्कोरका साथ दोस्रो स्थानमा छन् । 

भिडियो: