धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा अन्य ६ जना प्रतिस्पर्धी पुरुषहरुलाई हराउदै कविता ढकाल विजयी भएका छन् ।
प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) ले आधिकारिकता प्रदान गरेपछिको पहिलो निर्वाचनमा ढकालले ६ जना पुरुषहरुलाई हराउदै अध्यक्षमा जित हासिल गरेकी हुन् । प्रतिष्ठानको सिनेटले समाजलाई २०७२ सालमा आधिकारिकता दिएको थियो । त्यसपछिको यो पहिलो निर्वाचन हो ।
निर्वाचन प्रमुख प्रकाश श्रेष्ठका अनुसार अध्यक्षमा निवार्चित ढकालले ३६६ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी किशोर प्रसाद पोखरेलले ३१७ मत पाए भने अध्यक्षका प्रत्यासीहरु महेश्वर राईले १६३ मत, मदनकुमार हलुवाईले १९ मत, भुपध्वज बुढाथाकीले ९८ मत, किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत पाएका छन् ।
यसैगरि, बरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेतले ५८८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी पुर्णबहादुर श्रेष्ठले २६८ मत ल्याउदा बालकृष्ण मेहताले २१६, दिलीप कुमार परियारले ६९ मत ल्याएका छन् । महिला बरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत ल्याई बिजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी सीता कुमारी हुमागाईले ४८६ मत पाइन् । प्रशासनिक उपाध्यक्षतर्फ श्याम सुन्दर मेहताले ३४१ मत पाएर विजयी भएका छन् भने अन्य उम्मेद्वार केदार बहादुर सिंजालीले २९०, सोमनाथ रिजालले २२९ र भरत लाल चौधरीले २८१ मत मत पाएका छन् ।
उपाध्यक्ष नर्सिङतर्फ सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकी छिन् भने पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह तथा कोषाध्यक्षमा अजय कुमार शाह ३५५ मत ल्याई बिजयी भएका छन् । सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना बिजयी भएका छन ।