धरान: किरात राई पत्रकार संघ सुनसरीले यलम्बर सम्बत ५०८३ को अवसरमा राई समुदायका जनप्रतिनिधिहरुलाई साँस्कृतिक सामग्री धजुरी प्रदान गरेको छ । 

किराती समुदायको नयाँ बर्ष यलम्बर सम्बत ५०८३ को अवसरमा जिल्लाभरका राई समुदायका प्रतिनिधिहरुलाई साँस्कृतिक उपहार प्रदान गरिने संघका अध्यक्ष वसन्त बान्तवा राईले जानकारी दिए । संघले शुक्रबार धरानका मेयर हर्क साम्पाङलाई धजुरी लगाएर अभियानको शुरुवात गरेको थियो । सँस्कृति संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले यो अभियान शुरु गरेको पनि अध्यक्ष वान्तवाले बताए । 

मेयर साम्पाङको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र धनबहादुर कुलुङ राईलाई पनि धजुरी लगाइएको थियो । संघका अध्यक्ष राईसँगै केन्द्रीय उपाध्यक्ष विशाल राई, संघका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धजुरी लगाइदिएका थिए ।

yale-dong4

साँस्कृतिक सामग्री वावु र तीनचुलाको प्रतिबिम्बित हुने धजुरी कोटमा पहिरिदिएर लगाउने चलन छ । वावु सुद्धताको प्रतिक मानिन्छ । सुख वा दुःखको कार्यमा वावुमा रक्सी राखेर प्रयोग गर्ने चलन छ । यस्तै, पहेलो, रातो र हरियो तीन रंगको धजुरी तीन चुलाको प्रतिककोरुपमा मानिन्छ भने पहेलोलाई टिका, हरियोलाई प्रकृति र रातोलाई सबैको रगत एक भएको एकताको प्रतिककोरुपमा लिइने पनि संघका अध्यक्ष वान्तावाले बताए । उनले सभा सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी हुदा प्रयोग गरिदिन पनि आग्रह गरेका थिए ।

yale-dong3

मेयर साम्पाङले साँस्कृतिक मायाको चिनो पाउदा खुशी लागेको बताए । साथै उनले राष्ट्रियता मौलिकतामा नै हुने भन्दै सबैले मौलिक सँस्कृति जोगाउनुपर्ने बताए । यसैगरि, वडाअध्यक्षद्धयले पनि संक्षिप्त प्रतिक्रिया दिदै गौरव महशुस गरेको बताए । संघले उपमेयर अइन्द्रबिक्रम बेघालाई पनि धजुरी प्रदान गरेको थियो । उपमेयर बेघाले किरातको सिंगो सभ्यता बोकेको साँस्कृतिक प्रतिक पाएको अनुभूति भएको बताए । उनले भने,‘साँस्कृतिक सम्मान पाएको छुँ । सँस्कार, सँस्कृति, भाषा, लिपी बचाउने हामीले नै हो । त्यो बच्यो भने मात्र हाम्रो अस्तित्व बच्छ ।’

भिडियो :