विराटनगर: नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशनमा विवाद सृर्जना भएको छ । 

शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएको भन्दै अध्यक्ष पदका उम्मेद्वार पवनविवश अधिकारी पक्षले निर्वाचन वहिष्कार गरेको छ । युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो । अधिकारी कांग्रेसको संस्थापन (देउवा) पक्षका हुन् । नेता शेखर कोइराला पक्षका पत्रकारहरुले एकलौटी गर्न खोजेको भन्दै संस्थापन पक्षकाहरु रुष्ट भएका हुन् । सक्रिय पत्रकारहरुको ठुलो हिस्सालाई पाखा लगाउदै षडयन्त्र गरिएको भन्दै संस्थापन पक्षका पत्रकारहरुले निर्वाचन कार्यक्रम बहिष्कार गरेका छन् । 

समस्या समाधान गर्न वार्तामा बसेपछि आफ्ना पक्षका प्रतिनिधिहरुलाई उल्टै अपमान गरिएको अधिकारीले बताए । अध्यक्षका ५ जना आकांक्षीहरु भएपनि सहमतिमा नेतृत्व चयन गर्न खोज्दा पनि कोइराला पक्षले पेलेर नै जान खोजेको भन्दै अधिकारीले भने, 'हामी सहमतिको लागी पनि तयार छौं, तर अर्को पक्ष एकलौटीढंगले जान खोजेको छ । सहमति नभए समानान्तर कमिटी गठन गछौं ।' 

अधिकारीले विज्ञप्ति जारी गर्दै अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगराएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नाटन गरिएकोप्रति असहमति प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ,'नेतृत्वमा रहेका केही ब्यक्तिहरूको हठ र बलमिच्याइका कारण सहमतिको प्रयास विफल बनाइएको प्रति दुस्ख व्यक्त गर्दछौं ।' 

अन्य चारवटा प्रदेशमा सहमति भएको युनियन केन्द्रीय समितिले जनाए पनि प्रदेश १ मा भने एकपक्षीय गर्न खोजिएको आरोप उनले लगाएका छन् । 'एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमानजनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति हाम्रो आपत्ति रहेको छ,'विज्ञप्तिमा भनिएको छ,'सम्मानजनक सहभागिता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरूको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने सम्पूर्ण साथीहरूमा जानकारी गराइन्छ ।'

union1