धरान: धरानमा पहिलो पटक द्धवाथलन प्रतियोगिता आयोजना गरिने भएको छ । 

ट्रायथलन धरानको आयोजनामा आगामी फागुन २० गते धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ प्रतियोगिता हुने भएको हो । ट्रायथलन आयोजना गर्न कुनै पोखरी वा स्विमिङ पुलको अभाव भएको कारण द्धवाथलन प्रतियोगिता मात्र गर्न लागेको अध्यक्ष डा. समिर चौधरीले जानकारी दिए । उनका अनुसार द्धवाथलनमा निश्चित दुरीमा साइक्लिङ र दौड हुनेछ । यो प्रतियोगिताले शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउने पनि उनले बताए । 

प्रतियोगिता धरान १६ स्थित रंगशालाबाट शुरु हुनेछ । प्रतियोगितामा १४ बर्ष उमेर सम्मका एउटा समुह रहनेछ भने १४ बर्ष माथिका खुल्ला समुह पनि हुनेछ । प्रतियोगितामा खुल्ला उमेर समुहको कुल १८ किलोमिटर दुरी रहनेछ । शुरुमा रंगशालाबाट विभिन्न चोक हुदै पुनः रंगशालासम्म ५ किलोमिटरको दौड हुनेछ भने रंगशालाबाट पुनः १० किलोमिटरको साइक्लिङ हुनेछ । अन्तिममा ३ किलोमिटरको पुनः दौड हुने पनि आयोजकको सदस्य सचिव सनम तामाङले जानकारी दिए । यस्तै, १४ बर्ष उमेर समुहको शुरुमा ३ किलोमिटर दौड हुनेछ भने ५ किलोमिटर साइक्लिङ हुनेछ । पछि अन्तमा पुनः १ किलोमिटर दौड हुनेछ । प्रतियोगितामा २ सयको हाराहारीमा सहभागिता रहने पनि आयोजकको भनाई छ । 

भिडियो:

प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद, मेडल र प्रमाणपत्र दिइनेछ भने जुनियरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य सचिव तामाङले जानकारी दिए । सहभागिताबाहेक कसैले फण्डराइजको लागी पनि प्रतियोगितामा सहभागीता जनाउन सक्ने उनले बताए । 

dua1

प्रतियोगिताको लागी विभिन्न निकाय, सहयोगी दाताहरुबाट आवश्यक खर्च जुटाउन पहल भइरहेको पनि आयोजकले जनाएको छ । खेलकुदमा सक्रिय रहेका डाक्टर चौधरी वीपी प्रतिष्ठानमा कार्यरत छन् । उनले नै ट्रायथलन धरान संस्था गठन गरेका छन् । यो संस्थाले खेलाडी उत्पादन गर्न नयाँ खेलाडीहरुलाई तालिम गराउने, प्रतियोगिताहरुमा सहभागी गराउने काम गरिरहेको छ । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार द्धवाथलन आयोजना गरेर नगद पुरस्कार पनि दिने गरेका छन् । भविष्यमा क्लब खोलेर खेलाडीहरु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको पनि डा.चौधरीले बताए । 

dwa