धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड गलत भएको बताए । उनीहरुले चुनाव अघि नभई चुनावपछि सरकार सञ्चालनमा मात्र गठबन्धन गर्न उपयुक्त हुने विचार राखेका थिए । गठबन्धन नै गर्दा पनि सुनसरी क्षेत्र नं. १ मा भने संघ र प्रदेश वा दुवै प्रदेशमा कांग्रेसले उम्मेद्वारी दिनुपर्ने थियो भन्ने धारणा राखे ।

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेको भए नतिजा कांग्रेसको पक्षमा आउनसक्ने अवस्था रहेको वक्ताहरुको भनाई थियो । साथै उनीहरुले स्थानीय तह निर्वाचनमा धरानमा आंशिक गठबन्धन गरिनु पनि गलत भएको बताएको क्षेत्रीय सभापति तामाङले जानकारी दिए । ‘अधिकांशले पार्टीको चुनावी गठबन्धन नीति र सीट बाँडफाँड नै हारको मूख्य कारण रहेकोतर्फ इगिंत गरे,’उनले भने,‘गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको औल्याएका छन् ।’

संगठन राम्रो हुंदाहुंदै पनि केन्द्रीय नेतृत्वको कम्जोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारवाही गर्नुपर्ने पनि वक्ताहरुले आवाज उठाएका थिए । पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई अनुशासनको कारवाही गर्नवाट चुक्न नहुनेमा वक्ताहरुले जोड दिएका थिए ।

समीक्षा कार्यक्रमवाट आएका सुझाव, गुनासा र विचार माथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिइने सभापति तामाङले बताए । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, १ नं. प्रदेशसदस्यद्धय गणेश परियार र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरु तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादने, प्रदेशसभा १(१) र १(२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, प्रत्यासी उम्मेदवारद्धय किशोर राई र वुद्धि कटवाललगायत नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।