धरान: नेपालमा विदेश तथा स्वदेशबाट आएको विप्रेषण (रेमिटान्स)को सेवा सञ्चानल गर्दै आइरहेका धरानका मनि ट्रान्सफर एजेन्टहरु पनि संगठित भएका छन् । 

शनिबार भएको भेलाले व्यवसायी कुन्दन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती गठन गरेका छन् । रेमिटान्स एजेन्टहरुलाई संगठित गर्ने साथै हक, अधिकार र आई पर्ने समस्या समाधान गर्ने उद्देश्यले धरान रेमिटान्स एशोसिएसन तदर्थ समिती गठन भएको हो । तदर्थ समितीको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा सन्दिप शाक्य, सचिवमा खड्ग बहादुर बस्नेत, कोषाध्यक्षमा राजेन्द्र बस्नेत, सह(सचिवमा ज्योती शाही छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः रमेश मास्के, रामबहादुर गेलाल, संगित कुमार राई, विक्रम थापालाई रहेका छन् । 

समितीले हाल मनि ट्रान्सफर व्यवसायीलाई आई परेको विभिन्न समस्या समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य संघ लगायतलाई ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार राष्ट्र बैंकले रेमिटान्सहरुलाई आन्तरिक कारोबार बन्द गरेर वैदेशिक कारोबार मात्र गर्न दिने नीति ल्याउन लागेको कारण रेमिटान्स व्यवसायीहरु मारमा पर्नेछ भने गाउँ गाउँमा झन् अवैधरुपमा हुण्डी कारोबारले प्रसय पाउनेछ । त्यसैले यस्तो नीति नलिन आग्रह गर्दै ज्ञापन पत्र बुझाउन लागिएको पनि उनले बताए । 'गाउँ गाउँमा बैंकहरु छैन, अहिलेसम्म रेमिटान्सबाट नै सेवा पाइरहेका छन्, तर अब विदेशबाट मात्र कारोबार गर्न मिल्ने भनेपछि आन्तरिक कारोबार त हुण्डीबाट हुने भयो,'उनले भने, 'यसले रेमिटान्स मर्ने भो । रोजगारीलाई पनि असर पुग्छ, हुण्डी कारोबार बढ्छ र सरकारलाई राजश्व पनि घट्छ ।'