धरान: धरानमा पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला शुरु भएको छ । 

धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा शुरु भएको मेला प्रदेश नं १ का सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहका वक्ताहरुले विदेशबाट आयात हुने फुलहरु रोक्नुपर्ने धारणा राखेपछि प्रमुख अतिथिसमेत रहेका मन्त्री सिटौलाले भने जवाफमा सरकारले आयात रोक्न नसक्ने बताए । नेपालले डब्लु टि ओको सदस्यता भएको कारण कुनै पनि देशबाट आयात रोक्न नसक्ने मन्त्री सिटौलाले बताए । ‘एक मात्र उपाय हामीले गुणस्तरीय र कम मुल्यमा उत्पादन गर्नुपर्छ,’उनले भने,‘त्यसको लागी सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउने, व्यवसायीहरुलाई टिकाउने काम सरकारले गर्नुपर्छ । यो हामी सबैको जिम्मेवारी पनि हो ।’

मन्त्री सिटौलाले पुष्प खेती पढ्न चाहने विद्यार्थीहरुलाई सरकारले छात्रवृत्ति दिनसकिने पनि बताए । साथै उनले कृषिमा अनुदान भन्दा पनि प्रोत्साहन हुने कार्यक्रम आवश्यकता रहेकोमा जोडदिए । उनले भने,‘अनुदान दिने भन्दा पनि व्यवसायीले लिएको बैंकको ब्याज केही प्रतिशत सरकारले तिरिदिएर हुन्छ कि । के गर्दा हुन्छ, योजना बनाउनुपर्छ ।’ कार्यक्रममा प्रदेश सांसद रमेश बस्नेत, विजय राई, धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ निम्सिनालगायत अतिथिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भिडियो:

फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले आयोजना गरेको पुष्प मेला माघ २९ गतेसम्म हुनेछ । फुल व्यवसायीहरुसँगै खाजाका स्टलहरु पनि राखिएको छ । मेलामा मौषमी फुल, आलंकरिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, बिउविजन, कृषि औजार, उपकरण र विषादीलगायतको स्टलहरु रहेको संयोजक युमेनहाङ राईले जानकारी दिए । मेलामा ५ सय भन्दा बढी प्रजातिको फुलका विरुवाहरु प्रर्दशनी तथा बिक्री छन् । पुष्प व्यवसाय गर्न चाहने, घर आँगन तथा बगैचा सजाउन चाहने, फुल विरुवाप्रति अभिरुची राख्ने र ज्ञान हासिल गर्न चाहने बसैलाई उपयोगी हुने उनले बताए । 

स्वदेशी फुलको प्रर्वद्धन तथा बजारीकरण गर्ने मेलाको मुख्य उद्देश्य रहेको एशोसिएसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । एकै ठाउँमा आफुलाई मनपर्ने फुलहरु ग्राहकहरुले खरीद गर्न सक्ने उनले बताए । मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ७० लाखको कारोबार हुने अपेक्षा आयोजकको छ । 

ful9

ful13

ful11

ful8

ful10

ful12

ful7

ful6