धरान: प्रदेश १ सरकारका सडक पुर्वाधार तथा शहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईले सरकारको प्रमुख कार्यभारमा प्रदेशको नामकरण र स्थायी संरचना निर्माण रहेको बताएका छन् ।
जनयुद्ध दिवसको अवसरमा सोमबार धरानको लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान तथा सहिद र वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चापागाईले यस्तो बताएका हुन् । उनले प्रदेशसभाको ५ बर्षे दोस्रो कार्यकालको शुरुवाती चरणमा रहेको र विगतमा थाती रहकेो प्रदेशको नामकरणको मुद्दा पेचिलो बनाएर आएको पनि बताए । सकेसम्म चाडो सहमतिको आधारमा नामकरण टुंग्याउन सरकारभित्र र सरकारमा रहेका दलहरुसँग छलफल भइरहेको मन्त्री चापागाईले बताए । उनले भने,‘चाडै प्रदेश १ ले आफ्नो नाम टुंग्याउने चरणमा प्रवेश गर्दछौं ।’
मन्त्री चापागाईले प्रदेश सरकार अहिले कतिपय अस्थायी संरचना, भाडाको भवन र संघीय सरकार मातहतको कार्यालयको भवनमा मन्त्रालय र कार्यालयहरु सञ्चालनमा रहेकोले प्रदेश १ सरकारको स्थायी संरचना निर्माण दोस्रो महत्वपुर्ण कार्यभार रहेको बताए । उनले वृहत विराट क्षेत्र विकास समिति बनाएर विराट विकास क्षेत्रको भौगोलिक संरचनाभित्र स्थायी संरचना बनाउन अघि बढ्ने पनि बताए ।
मन्त्री चापागाईले जनयुद्धको कारण नेपालमा राजनीतिक चेतनास्तर बढेको उल्लेख गर्दै आफ्नो हक, अधिकार प्राप्तीको आन्दोलनमा सबै क्षेत्र, वर्ग, समुदाय र सिमान्तकृत समुदायलाई समेटेको पनि जिकिर गरे । सबैको सहभागिताकै उपलब्धी स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको पनि उनले बताए । रक्तदान कार्यक्रमसँगै सहिद तथा वेपत्ता परिवारलाई सम्मान पनि गरिएको थियो । नेकपा माओवादी धरानका अध्यक्ष सुर्यप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, नेताहरु मुक्सामहाङ मेन्याङबो, चोत्लुङलगायतको उपस्थिति रहेको थियो ।
भिडियो: