धरान: प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज महिला पुरुष बास्केटवल प्रतियोगितामा धरान मेघा हिमालयन र सियोन स्कुलले विजयी शुरुवात गरेको छ । 

धरान १६ रंगशालास्थित मिनि कभर्ड हलमा शुक्रबार आयोजित पुरुष तर्फको उद्घाटन खेलमा धरान मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ को झिनो अन्तरले हरायो भने महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गर्यो । पुरुषतर्फ भएको खेलमा धरान मेघा र एम्स कलेज प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक जोडेको थियो । दोस्रो खेलमा सहज रुपमा विजयी भएका सियोज स्कुलले प्रत्येक क्वाटरमा ९, १०, ४ र १० अंक जोडेका थियो भने डिपो स्कुलले कुनै पनि अंक जोड्न सकेन।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा आयोजकले प्रवेश शुल्क लिन थालेको छ । संघले पहिलो पटक बास्टेवल खेल पनि हेर्नलाई प्रवेश शुल्क लिएको हो । बास्केटवल खेललाई थप व्यवसायीक बनाउनका लागि थोरै शुल्क लिएर सुरुवात गरिएको आयोजक सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । फुटबल प्रतियोगिता आयोजना हुँदा शुल्क लिइने गरेको भन्दै उनले बास्केटवलमा पनि शुल्क तिरेर खेल हेर्ने अभ्यास गराउन प्रयास गरिएको बताए । प्रतियोगितामा प्रदेश १ भरिका पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाएको छ ।

basket2

      प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन । भोलि शनिबारको खेल महिला तर्फ युएन र धरान मेघाबीच हुनेछ भने पुरुषतर्फ सिटि कलेज र डिपो कलेज, इन्जिनियर कलेज र विकेविएम विराटनगर, केन्द्रिय प्रविधि क्याम्पस हातिसार र राष्ट्रिय जनसहयोग इटहरीबीच हुनेछ । प्रतियोगिताको फाइनल फागुन १० गते हुनेछ । 

भिडियो: