धरान: प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टरनेशनल बोर्डिङ स्कुलले जितेको छ ।
धरान उच्च कलेजले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा शनिबार धरानकै सगरमाथा स्कुललाई हराउदै उपाधि जितेको हो । प्रतियोगिताको विजेता होलील्याण्डले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ भने उपविजेता सगरमाथा स्कुलले नगद २५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा छात्रातर्फको खेलमा पनि होलील्याण्डले नै उपाधि जितेको छ । होलील्याण्डले आफ्नै स्कुलको अर्को टिमलाई पराजित गरी उपाधि चुमेको हो । छात्रातर्फको विजेता टिमले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम होलील्याण्डले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल वनेको छ ।
प्रतियोगितामा छात्रातर्फ कार्मेल स्कुलकी प्रान्जल लिम्वुल मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन् भने छात्रतर्फ दिल्ली पव्लिक स्कुलका नुभा राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा होलील्याण्डकी नुमा लिम्वु घोषित भइन् भने छात्रतर्फ होलील्याण्डका सिपु लिम्वु घोषित भएका थिए । प्रतियोगितामा धरान र धरानबाहिरका गरी ३५ टिमले स्पर्धा गरेका थिए ।
धरान सेकेन्डरी स्कुल (धरान उच्च)ले रजत वर्षको शुभारम्भमा बास्केटबल प्रतियोगिता आयोजना गरेको हो । रजत वर्षलाई उत्सवका रुपमा मनाउने क्रममा खेलकुदलाई प्राथमिकता दिंदै बास्केटवल प्रतियोगिताबाट सुरुवात गरिएको प्रिन्सिपल चित्रप्रसाद ढुंगेलले जानकारी दिए । प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।
धरान उच्च व्यवस्थापनले धरान सेकेन्डरी स्कुलसहित धरान कलेज अफ म्यानेजमेन्ट, विरेन्द्र मेमोरियल कलेजलगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ ।प्रतियोगितालाई धरानको बास्केटबलको प्रतिष्ठित क्लब हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष शिवनारायण शाहले अध्यक्षता गरेका थिए भने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेल, प्राध्यापक गंगा चौलागाई, लगायत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।