धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट घाइते भएका ८ जनाको स्वास्थ्य अवस्था बुझ्न सोमबार राती धरानका जनप्रतिनिधिहरु पुगेका छन् ।

प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लगायत जनप्रतिनिधिहरु घाइतेको स्वास्थ्य अवस्था बुझ्न प्रतिष्ठान पुगेका हुन् । उनीहरुले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्मासमेतलाई भेट गरेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।

सांसद रमेश बस्नेतका अनुसार प्रतिष्ठानमा हुने सबै उपचारहरुमा घाइतेहरुलाई निःशुल्क गरिदिने भएको छ भने २ जनाको अवस्था गम्भीर भएकोले एयर एम्बुलेन्सबाट बाहिर उपचारमा लैजान रिफर गरेको छ । ती घाइतेलाई लैजादा आवश्यक पर्ने जनशक्ति, अक्सिजनलगायत पनि उपलब्ध गराउने प्रतिष्ठानले प्रतिवद्धता जनाएको सांसद बस्नेतले बताए। 

gas3

उपमेयर अइन्द्रबिक्रम बेघाले ज्यादै दुःखद घटना भएको उल्लेख गर्दै राज्यले मापदण्ड बनाएर ग्याँस सिलिण्डरबारे कडा अनुगमन गर्न आवश्यक भएको बताए । साथै, यो बिषय कार्यपालिका बैठकमा प्रवेश गराउने र ग्याँस डिलरहरुलाई बोलाएर छलफल गराउने पनि बताए । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणी भट्टराईले सिलिण्डरहरुको अवस्थाबारे विज्ञ टोली बनाएर राष्ट्रियस्तरबाट नै उद्योगहरुमा अनुमगन गर्नुपर्ने बताए । 

gas1

सोमबार दिउँसो करिब साढे ४ बजेतिर धरान १७ आदर्श चोक नजिक घरमा लिक भएको ग्याँस सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट भएको थियो । विष्फोट हुँदा २७ बर्षीय सविता राई, उनकी बहिनी २२ बर्षीया सोनिका राई, उक्त घरमा भाडामा बस्ने शिक्षिका ४२ बर्षीया अञ्जना राई, उनकी छोरी १० बर्षीया सोनिहाङ राई, ८ बर्षीया छोरा साङ्केन राई र ६६ बर्षीया आमा राजकुमारी राई घाइते भएका छन् । यस्तै, ग्याँस डिलरको गाडी चालक अनिष कार्की र कर्मचारी वासुदेव खड्का पनि घाइते छन् । ग्याँस सिलिण्डरको रेगुलेटर खोले लगत्तै ग्याँस निस्किएको र पड्कीएर घरको झ्यालका शिशा सबै फुटेका छन् भने ग्रिलसमेत बाँङ्गीएको छ । 

भिडियो:

भिडियो: