धरान: नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङको कथा संग्रहभित्रको एउटा कथा हो, कुमार मामा । 

अब भने कुमार मामा कथा नाट्य रुपान्तर भएर मञ्चन हुने भएको छ । रंगकर्मी निर्देशक विष्णु मोक्तानको निर्देशनमा कुमार मामा नाटक मञ्चनको तयारी भइरहेको छ । उनले नै कथालाई नाट्य रुपान्तरण गरेका हुन् । धरान ८ स्थित सभागृहमा फागुन १७ गतेदेखि ३० गतेसम्म नाटक मञ्चन हुने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । अहिले सभागृहमा रंगकर्मीहरुले नाटकको अभ्यासलगायत अन्य तयारी गरिरहेका छन् । युवा रंगकर्मीहरुलाई अग्रज रंगकर्मी बिक्रमसिंह थारुले पनि आफ्ना मार्गनिर्देशन गरिरहेका छन् ।

निर्देशक मोक्तानले फागुन १७ गतेबाट निरन्तर मञ्चन हुने र आएर नाटक हेरेर सल्लाह, सुझाव, प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले रैथाने बिषय, भुँइमान्छेहरुको कथा लिएर तयार गरिएको पनि बताए । नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बु, उदासी पायल राई, विकास कुलुङ, मानबहादुर राई, दिपेन्द्र राई, तीर्थ विश्वकर्मा, एलिना रुम्दाली, करिष्मा क्षेत्री, एञ्जल तामाङलगायत कलाकारहरु छन् । नेपथ्यमा रहेर गुरु पोखरेल र बिक्रमसिंह थारुले सहयोग गरिरहेका छन् । 

IMG_0164

अहिले कलाकारहरु घरकै भात खाएर जेनतेन काम गरिरहेको भन्दै निर्देशक मोक्तानले नाटक सकेपछि तिर्ने सर्तमा सभागृहको मर्मतसम्भार गर्न खर्च सापटी लिएको बताए । ‘सभागृहको अवस्था यस्तो छ, तपाईहरुले देखिहाल्नुभएको छ । खर्चको हिसाब त के गर्नु र ? मर्मत गर्न ऋण सापटी लिएका छौं, नाटक सकेपछि तिर्ने सर्त छ,’ उनले भने,‘नियमित शो साँझ ५ बजे हुन्छ । त्यसबाहेक बिहान वा दिउँसो बुकिङ भयो भने मञ्चन गछौं ।’

विद्यार्थीलाई सहुलियत भनेर ३ सय र अन्य ५ सय तोकिएको निर्देशक मोक्तानले बताए । धरानमा पैसा तिरेर नाटक हेर्ने बानी बसेकोले यसपाली पनि टिकट काटेर नै नाटक हेरिने उनले अपेक्षा गरे । नाटक १ घण्टा २० मिनेट हाराहारीमा रहेको पनि उनले बताए । अग्रज रंगकर्मी बिक्रमसिंह थारुले नाटकलाई अनुत्पादक क्षेत्र भनेर लगानी नै नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । रंगकर्मीलाई स्कुलिङमा लगानी हुनुपर्ने बताए । नाटकघर अभावमा लथालिङ्ग सभागृहमा नाटक मञ्चन गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुनुपर्ने उनले बताए । 

भिडियो: