धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करणको फाइनल भोली (शनिबार) हुदैछ । 

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ । क्यामरुनको बि डिभिजन क्लब एभेनियर र झापाली टोलीबीच मैदानमा यो चौथो भेट हुन लागेको हो । अहिलेसम्म तीन पटक भएको भिडन्तमा २ पटक झापाले जितेको छ भने एक पटक एभेनियरले जितेको छ ।

यसअघि बेलबारी गोल्डकपमा टाइब्रेकरमा ४–२ ले एभेनियरले जितेको थियो भने इटहरी गोल्डकपमा १–० ले केएफटिसी विजयी भएको थियो । मेची नेत्रालय काकडभिट्टा गोल्कडपमा पनि केएफटिसीले २–० ले जितेको थियो । भोली शनिबार फाइनलमा जसले जिते पनि बुढासुब्बा गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । 

झापाको केएफटिसी तेस्रो सहभागीतामा यसपपटक फाइनल पुगेको हो । बुढासुब्बाको च्याम्पियन लेखाएर केएफटिसी इतिहास बनाउन चाहन्छ । केएफटिसी झापाले पहिलो खेलमा बुढासुब्बाको पाँच पटक विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाएको थियो भने सेमीफाइनलमा युकेएफसि भारतलाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको हो ।

ए भिडिजन लिग खेलिरहेको खेलाडीहरु खामिर गिल्सन सुब्बा, निशान लिम्बु, मिलन राईसँगै अफ्रिकन खेलाडी यमी पनि मैदानमा उतारिरहेको झापाका प्रशिक्षक मुन्ना सुब्बा यसपाली फाइनल जितेर उपाधि उचाल्ने दाबी गर्छन् । क्यामरुनका खेलाडीहरु शारिरीकरुपमा अग्ला र वलिया भए पनि फुटबल माइन्ड गेम भएकोले उनीहरुको सामना गर्ने उनले बताए । प्रशिक्षक सुब्बा विपक्षीको जतिसुकै वलियो रक्षापंक्ति भएपनि तोडेर गोल गर्नसक्ने मिडफिल्ड र फरवर्डहरु टिममा भएको बताउँछन् । आफ्नो डिफेन्स पनि दोस्रो खेलमाम धेरै सुधार भएकोले फाइनल जित्ने आत्मविश्वास भएको उनले बताए । 

1IMG_0511

एभेनियर एफसि पहिलो पटक सहभागी टिम हो, र पहिलो सहभागितामै प्रतियोगिताको उपाधि नजिक छ । हुन त यसअघि २०७५ को भएको २१ औं सँस्करणमा क्यामरुनकै क्लब डाफिन्स एफसिले बुढासुब्बा गोल्डकप उचालेको थियो । एभेनियर एफसि क्यामरुनको बि डिभिजन क्लब भएको प्रशिक्षक आशिक थापा मगरले बताए । एन्फासँसग अनुमति लिएर नै विगत २ बर्षदेखि नेपालको प्रतियोगिताहरु खेलिरहेको पनि उनले बताए । बुढासुब्बामा एभेनियरले पहिलो खेल बागमती युथ क्लबलाई १–० ले र सेमीफाइनलमा एन्फा मोरङलाई २–० ले पराजित गर्र्दै फाइनल पुगेको थियो । 

एभेनियरका प्रशिक्षक मगर पनि उपाधि जित्नकै लागी सहभागी भएकोले शनिबार फाइनल जित्ने दाबी गर्छन् । झापा वलियो टिम भएपनि विपक्षीको कमजोरीलाई ध्यान दिएर आक्रमण गर्ने मगरले बताए । प्रशिक्षक मगरका अनुसार फाइनलमा शनिबार ३, ४ जना नयाँ खेलाडी मैदानमा उत्रनेछन्, जसले टिमलाई थप वलियो बनाउने र उपाधि जित्न सहज हुनेछ । टिमको फरवर्ड एकदमै राम्रो भएकोले विपक्षीको रक्तापंक्ति तोड्ने उनले पनि दाबी गरे । एभेनियरका कप्तान गिनीले नेपाली खेलाडीहरुले पनि राम्रो खेलिरहेको भन्दै झापा पनि वलियो टिम भएको र जित्न गाह्रो भएपनि आफुहरु च्याम्पियन हुने उनले बताए । 

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख हात पार्नेछ । सर्वोत्कृष्ट घोषित खेलाडीले नगद १ लाख पुरस्कार पाउनेछन् । यस्तै, हाइ स्कोररले नगद ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट भएका खेलाडीहरुले जनही नगद २५ हजार पाउने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।

भिडियो: