धरान: सातौ हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिता आज (आइतबार)देखि सुरु भएको छ ।

हराईजन क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धरान १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले वेलुन उडाएर गरेका थिए । उद्घाटन खेलमा आयोजक हराईजन क्लबले झापा जगर क्लवलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ । हराईजनले झापालाई ७२–४४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

हराइजन क्लवका कविन मगरको उत्कृष्ट प्रदर्शनले क्लव विजयी भएको हो । खेलमा व्यक्तिगत १९ अंक जोडेका कविन खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद एक हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । सहज रुपमा जित निकालेका हराईजन क्लव र झापाले प्रत्येक क्वाटरमा १८–९, १८–१२, १३–९ र २३–१४अंक जोडेका थिए ।

hori

धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा जारी प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको छ । सहभागि टिमहरुमा आयोजकसंगै टाइम्स कलेज काठमाण्डौ, नेपाल आर्मी, नेपाल पुलिस, मधेश प्रदेशबाट बारा, विराटनगर, झापा र होलिल्याण्ड स्कुलले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद एक लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आयोजक क्लवका अध्यक्ष श्रीभक्त राईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान १८ नम्बर वडाध्यक्ष प्रविण राई, १० नं वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा भोली सोमबार नेपाल पुलिस टिम र होलिल्याण्ड स्कुल धरानबीच खेल हुनेछ । 

hoy