धरान: खेल पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यसहित ‘धरानमा लहर, खेलकुदको सहर’ नारा लिएर आइतबारदेखि ७ औं राष्ट्रिय हराईजन बास्केटवल प्रतियोगिता शुरु हुने भएको छ । 

आयोजक होराइजन क्लबले शुक्रबार धरान १३ स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन २१ गते आइतबारदेखि २७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । धरानमा खेल पर्यटनको सम्भावना रहेको भन्दै आयोजकले यो प्रतियोगिताले पनि खेल पर्यटनको प्रर्वद्धनमा मद्दत पुग्ने जनाएको छ । प्रतियोगिता धरान १७ स्थित माध्यामिक विद्यालयको बास्केटवल कोर्टमा हुनेछ । 

प्रतियोगितामा ८ वटा टिम सहभागी रहने क्लबका अध्यक्ष श्रीभक्त राईले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट मोरङ बास्केटवल संघ, झापा बास्केटवल संघ, आयोजक हराईजन क्लब धरान, होलिल्याण्ड इन्टरनेशनल कलेज धरानको टिम सहभागी रहेको छ । यस्तै, कोशी प्रदेश बाहिरबाट मधेश प्रदेशको टिम, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र साविक विजेता टाइम्स इन्टरनेशल कलेज काठमाण्डौको सहभागिता रहेको पनि अध्यक्ष राईले जानकारी दिए । 

विजेताले ट्रफीसहित नगद १ लाख ११ हजार १ सय ११ पुरस्कार हात पार्नेछ भने उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ । यस्तै, प्रतियोगिताको मोष्ट भ्यालुएवल प्लेयरले नगद ११ हजार र राइजिङ प्लेयरले नगद ६ हजार रुपैयासहित पुरस्कार पाउनेछन् । यस्तै समापन समारोहमा एक जना सञ्चारकर्मीलाई पनि नगदसहित सम्मान गरिने क्लबका निवर्तमान अध्यक्ष बसन्त राईले जानकारी दिए । 

हराईजन क्लब २०५१ सालदेखि नै खेलकुद, सामाजिक काम, गीत संगीतलगायतमा सक्रिय थियो । २०६९ सालदेखि भने यो क्लब बास्केटवल खेलमा केन्द्रीत भएको छ । क्लबले २०६९ देखि नै आमन्त्रण बास्टेवकल प्रतियोगिता आयोजना गर्न शुरुवात गरेको हो ।