धरान: कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा लिम्बुको बिहान करिब अढाई बजे निधन भएको हो । गएको चैत ५ गते विराटनगरमा कोशी नाम खारेज गर्न माग गर्दे पहिचान पक्षधरहरुले वृहत प्रर्दशन गरेको थियो । सोही क्रममा सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा लिम्बुको टाउको भित्र गम्भीर चोट लागेको थियो । बाहिरी चोट नदेखिएको कारण उनी तत्काल उपचारमा गएका थिएनन् । तीन दिनअघि मात्र थप स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारमा वीपी प्रतिष्ठान लगिएको थियो । 

मृतक लिम्बुको शव हाल वीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरको केन्द्रीय सहकमाण्डर रहेको मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । मृतक लिम्बुलाई राष्ट्रिय सहिद घोषणा र उचित क्षतिपूर्ति दिनुपर्ने माग पनि आन्दोलनरत पक्षले अघि सारेको छ । माग पुरा नभएसम्म मृतकको शव जिम्मा नलिने पनि उनीहरुले बताएका छन् ।