धरान: कोकाहा खोलाको पानी धरान ल्याउन श्रमदान अभियान चलिरहेको छ । यो प्रोजेक्टको लागी ३ करोड भन्दा बढीको पाइप आवश्यक पर्नेछ । त्यसैको लागी सहयोग जुटाउन यही चैत २५ गते धरानमा कोकाहा खानेपानी सहयोगको लागी कन्सर्ट हुने भएको छ । 

आज मेयर हर्क साम्पाङसहित आयोजक टोलीले पत्रकार सम्मेलन गर्दै टिकट बिक्री शुरु भइसकेको जानकारी दिएको हो । मेयर साम्पाङले धरान कला र कलाकारहरुको पनि सहर भएकोले खानेपानीलाई समर्पित गरेर कन्सर्ट आयोजना गर्न लागेको बताए । च्यारिटी कन्सर्टबाट संकलन भएको रकमले कोकाहाको पानी धरान ल्याउन पाइप खरिद गरिने पनि उनले बताए । मेय साम्पाङले भने,‘अहिलेसम्म धेरै कन्सर्ट हेर्नुभयो, यो कन्सर्ट भने धरानको खानेपानीको लागी हुनेछ । त्यसैले भव्यताको साथ सफल बनाउनुपर्छ ।’

concert1

कन्सर्ट सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा हुदैछ । कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दिप श्रेष्ठ, राजेश पायल राई, दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, एपि शेर्पा, डिल्ली फोम्बो, रोहित मास्के र वाकिङ क्लाउण्ड ब्याण्डको पनि प्रस्तुती हुनेछ । कन्सर्टकी संयोजक एवं गीतकार मीना सिंगकले कन्सर्टको लागी सबै कलाकारहरुले पारिश्रमिक नलिने जानकारी दिइन् । उनका अनुसार कन्सर्टकै दिन घोषणा हुने गरि देश, विदेशबाट सहयोग आउन शुरु भइसकेको छ । उनले भनिन्,‘सहयोग आउन थालिसकेको छ । हामी कन्सर्टकै दिन कहाँ कहाँबाट कति सहयोग आयो भनेर विस्तृत जानकारी दिन्छौं ।’ बैशाख १ गते रिलिज हुने जारी फिल्मको टिमले पनि २ लाख रुपैया सहयोग गर्ने भएको छ । 

कन्सर्टको लागी २ सय, ५ सय, १ हजार र भिआइपी टिकट ७ हजार १२१ (एउटा पाइप बराबर)को रहेको छ । कन्सर्टकै दिन भने गेटमा ३ सय रुपैयाको टिकट हुनेछ । टिकट र पोष्टरको लागी हेटौडाका अनिरुध्न लुईटेलले सहयोग गरेको सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए । कन्सर्टलाई सुन्दर साउण्डले ५० प्रतिशत मात्र शुल्क लिने सहमति भएको पनि उनले बताए । सेवक अभियानका संयोजक राजिव हलवाईले कोकाहको पानी ल्याउन सफल हुँदा ५० प्रतिशत अभाव टर्ने भएकोले सबैले सहयोग गर्न आह्वान गरे ।

भिडियो: