धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ)लाई सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने निर्णयबारे गृहमन्त्रालयले जिल्ला प्रशासनलाई जानकारी गराएको छ ।

मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाउदै उक्त निर्णयबारे जानकारी गराएको हो । चैत २४ गते बसेको मन्त्रीपरिषद बैठकले लाजेहाङलाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैया आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । चैत पहिलो साता कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको आन्दोलनमा झडप हुँदा लाजेहाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चैत १० गते निधन भएको थियो ।

लाजेहाङको शव अझै पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । लाजेहाङको निधनपछि पहिचान पक्षधर संघसंगठनहरुले कोशी प्रदेश नाम खारेज, लाजेहाङलाई सहिद घोषणा लगायत माग गर्दै आन्दोलन चर्काएका थिए । विभिन्न पालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरिएको थियो भने कोशी प्रदेश लेखिएको बोर्ड तोडफोड, स्टाम्प कब्जा र कागजात जलाइएको थियो । आन्दोलन चर्कदै गएपछि सरकारले लाजेहाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । 

संघीय लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले निर्णयबारे जिल्ला प्रशासनबाट परिवारमा जानकारी पुगेपछि थप निर्णय गरिने बताए । सहिद लाजेहाङको शवको अन्त्येष्टी बैशाख ३,४ गतेतिर गर्नेबारे छलफल भइरहेको पनि उनले बताए । 

home