धरान: एक महिनाअघि एजेण्डामा प्रवेश नै नगरि अवरुद्ध भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक भोली (सोमबार) दिउँसो २ बजेको लागी बोलाइएको छ ।
मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठक दिउँसो २ बजे हुनेबारे जानकारी दिदै भनेका छन्,‘आशा छ महत्वपुर्ण निर्णंयहरु हुनेछन् ।’ गत चैत १ गतेको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि अवरुद्ध भएको थियो ।
मेयर साम्पाङका स्वकिय सचिवले वडाअध्यक्षहरुलाई पठाएको पत्रको विरोध गर्दै वडाअध्यक्षहरुले माफी माग्नुपर्ने र कारबाही हुनुपर्ने अडान राखेपछि बैठक एजेण्डामा नै प्रवेश हुन सकेन । बैठक अघि बढ्न नसकेपछि मेयर साम्पाङले स्थगित गरेका थिए।
उक्त घटनापछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर साम्पाङमा निरंकुश चरित्र हावी भएको, वडाअध्यक्षहरुको निरन्तर मानमर्दन गरेकोलगायत आरोप लगाउदै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले हातमा कालोपट्टी बाँधेर मेयर साम्पाङविरुद्ध सांकेतिक विरोध शुरु गरेका थिए भने चुम्लुङ हिममा राजनीतिक दलहरुले सभा नै गरेका थिए । अहिले भने वडाअध्यक्षहरुको आन्दोलन मत्थर भइसकेको छ । कतिपय वडाअध्यक्षहरु कोकाहा खोलाको पानी ल्याउने श्रमदानमा सहभागी भइरहेका छन् भने पाइप पनि सहयोग गरिरहेका छन् ।
बैठकमा आउलान् वडाअध्यक्षहरु ?
सोमबारको बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु आउछन् कि आउदैनन् ? अहिले यो प्रश्न उठिरहेको छ । हुन त मेयर साम्पाङ र एमाले, कां्रग्रेस र माओवादीका संसदीय दलका नेताहरुबीच निकासको लागी छलफल भएको थियो भने मेयर साम्पाङले राजनीतिक दलका नेतृत्वसँग पनि भेटवार्ता गरेका थिए । यद्यपी, बैठकमा वडाअध्यक्षहरु सहभागी हुन्छन् कि हुदैनन् भन्ने अन्योलता कायमै छ ।
एक वडाअध्यक्षका अनुसार संसदीय दलका नेताहरु एमालेबाट नरेश इवारम, कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) र माओवादी केन्द्रबाट मनोज भट्टराईसँग मेयर साम्पाङले छलफल गरिसकेका छन् । तरपनि बैठकमा सहभागीताबारे भने भोली सोमबार बिहान हुने एमालेको बैठक, र त्यसपछि हुने तीन दलको संसदीय दलको बैठकको निर्णयमा भर पर्नेछ । ‘मेयरसँग संसदीय दलका नेताहरुको छलफल भएको थियो । तर भोली बोलाएको बैठकमा हामी सहभागी हुने कि नहुने भन्ने भोली नै निर्णय हुन्छ,’ती वडाअध्यक्षले भने,‘सबै सकरात्मक नै छौं । बिहान हुने एमालेको बैठक, त्यसपछि बस्ने तीन दलको संसदीय दलको बैठक पछि निर्णय हुनेछ ।’