धरान: सेउती खोलाको क्षेत्र मिचिएको भन्दै मेयर हर्क साम्पाङले धरान ५ स्थित तल्लो देउरालीमा निर्माणाधिन हेल्थ करिडोरको काम रोकेपछि स्थानीयले विरोध जनाएका छन् ।

सामुदायिक टोल विकास समिति तथा स्थानीयबासीहरुले सोमबार करिडोर निर्माणाधिनस्थलमा नै पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले विकासको काममा अवरोध गरेको भन्दै विरोध जनाएको हो । उनीहरुले मेयर साम्पाङले यथार्थ नबुझी एक्कासी आएर काम रोकेकोमा पनि असन्तुष्टी प्रकट गरेका छन् । नगरकै इञ्जिनियर प्रभात तामाङले निरीक्षण गरिरहेको योजनालाई मेयर साम्पाङले किन रोकेको भन्दै उनीहरुले प्रश्नसमेत उठाएका छन् ।

आइतबार इञ्जिनियर, प्रमुख प्रशासकीय अधिकृतसहित उक्त करिडोर अनुगमनमा मेयर साम्पाङ पुगेका थिए । उनले खोलातर्फ मिचेर करिडोर निर्माण भइरहेको भन्दै तत्काल काम रोक्न र करिब १० फिट पुर्वतर्फ तारजाली सार्न निर्देशन दिएका थिए । मेयरको यो निर्देशन पश्चात करिडोर निर्माणको काम रोकिएपछि स्थानीयसबासीहरु रुष्ट भएका हुन् ।

health coridor1 copy

समितिका अध्यक्ष कविचन्द्र याक्खाले शुरुदेखि नै नगरको इञ्जिनियरसँग समन्वय गरेर काम भइरहेको तर अहिले एक्कासी मेयर साम्पाङले विकासको काम रोकेको भन्दै विरोध जनाए । उनले अघिल्लो बर्ष पनि विभिन्न विवाद झिकेर संघबाट आएको ३० लाख बजेट फ्रिज भएको भन्दै यसपालीको ५० लाख रुपैया बजेटको कुनै पनि हालतमा काम हुनुपर्ने अडान राखे । उनले भने,‘मेयरको सुकुम्बासी जनतालाई हेर्ने नजर ठिक भएन । यो करिडोर हाम्रो लागी ठुलो विकास हो । तर कुरा नबुझी मेयरले रोकेकोले हामीलाई चित्त बुझेको छैन ।’

स्थानीयबासीहरुले कुनै पनि हालतमा काम रोक्न नहुने बताएका छन् । मेयर डोजर लिएर भत्काउन आए प्रतिकार गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । मेयर साम्पाङसँग आइतबार नै वडा ५ का अध्यक्षसहित छलफल भएपनि सहमति जुट्न नसकेको भन्दै याक्खाले कामलाई अहिलेकै अवस्थाबाट निरन्तरता दिने जिकिर गरे । 

भिडियो: