धरान: कोशी प्रदेश नामाकरण खारेजीको माग गदै आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
प्रदेश नं. १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार लाजेहाङको परिवारलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार किरात राई यायोक्खा, सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले सहिद लाजेहाङकी आमा धनमाया लिम्बुलाई चेक हस्तानतरण गरेका थिए ।
चेक ग्रहण गर्ने क्रममा लाजेहाङकी आमा भावविह्वल भएकी थिइन् । सहिद लाजेहाङकी बहिनी पवित्रा सुब्बाले कोशी प्रदेश नाम खारेज गरेर पहिचानको आधारमा राखिएपछि मात्र आफ्नो दाजु लाजेहाङको आत्माले शान्ति पाउने बताए । सुच्च राई कल्याणकारी समाजका अध्यक्ष विनोद राईले पहिचानको आधारमा नाम हुनै पर्ने जिकिर गरे । उनले किरात पहिचान र सभ्यता भएको धारणा राख्दै राज्यबाट नै पहिचान मेटाउने खेल भएको पनि बताए ।
यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले पहिचानको आधारमा नामकरण हुनुपर्ने माग उठिरहदा वेवस्ता गर्दै पहिचानविरोधी नाम राखिएपछि लाजेहाङ जस्ता युवा सहिद हुनुपरेको बताए । उनले अविलम्ब कोशी प्रदेश नाम खारेज गरेर पहिचानवादीहरुको माग सम्बोधन गर्न पनि आग्रह गरेका छन् । उनले लाजेहाङको शव भोली शनिबार बिहान ९ धरानमा शवयात्रा गराउने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने पनि जानकारी दिए । धरान पछि इटहरी, विराटनगरमा पनि श्रद्धाञ्जली कार्यक्रम हुने र अन्तिममा बेलबारीको लालभित्तिमा पुर्याएर अन्त्येष्टी गरिने पनि उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सहिद लाजेहाङप्रति समर्पित गर्दै कविता पनि वाचन गरेका थिए । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै चैत्र ५ गते विरानगरमा भएको आन्दोलनका क्रममा घाइते भएका लाजेहाङको पाँच दिन पछि उपचारको क्रममा मृत्यु भएको थियो । नेपाल सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ । हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको शव भोली शनिबार अन्येष्टी गरिने भएको छ ।
भिडियो: