धरान: सरकारसँग आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारी गरिरहदा धरानका राजनीतिक दल केही वडाअध्यक्षहरुलाई साथ लिएर राजधानी प्रस्थापन गरेका छन् ।

आगामी बर्ष धरानको विकासको लागि बजेट माग गर्न विभिन्न योजनाहरु लिएर राजनीतिक दल र वडाअध्यक्षहरु राजधानीतर्फ लागेका हुन् । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरुलाई भेटेर योजना पेश गर्ने तथा बजेट माग गर्ने बताएका छन् । टोलीले धरानसँगै सुनसरी क्षेत्र नं १ को विकासको लागि योजनाहरु लिएर गएको जानकारी दिएको छ । विगतमा अलग अलग दलहरुको टोली योजना लिएर राजधानी जाने गरेकोमा यसपटक संयुक्तरुपमा पहल गरिने पनि दलका नेताहरुले बताएका छन् । 

टोलीमा नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङ, नारायण सुवेदी, मीन सुब्बा, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, माधव घिमिङ, माओवादी केन्द्रबाट फोक्वाहाङ सुब्बा (चोत्लुङ), जसपाका ताजुब लिम्बुलगायत छन् । यस्तै, वडाअध्यक्षहरुमा वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा २० का अध्यक्ष पदम लिम्बु, वडा ९ का अध्यक्ष रुपेश आचार्यलगायत छन् । 

आज बिहान पत्रकार सम्मेलन गर्दै नेताहरुले सबैभन्दा पहिलो बुँदामा धरानको खानेपानी समस्या समाधान गर्न १० वटा डिप बोरिङलगायत पुर्वाधार विकासको लागी धरान खानेपानी व्यवस्थापन बोर्डलाई बजेट मागको योजना समेटिएको जानकारी दिएका छन् । यस्तै, कोशी वा धरान–तमोर सुरुङ मार्ग तथा खानेपानी आयोजनाको लागि पनि बजेट माग गरिनेछ भने धरान रंगशाला पुर्वाधार विकासका लागी पनि बजेट मागिनेछ । रंगशालामा फ्लड लाइट, प्याराफिट, बहुउद्देश्यीय कवर्ड हल लगायत निर्माण गर्ने योजना समेटिएको कांग्रेस सभापति पोखरेलले जानकारी दिए ।

dharan politics

यस्तै, भक्तराज कन्दङ्वा क्रिकेट रंगशाला, धरान र बराहक्षेत्रको लागि सञ्चारगम्रा निर्माण, पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक विद्यालय कलेजमा विकास गर्ने, धरान सहर क्षेत्रको विद्युत प्रसारण लाइनलाई भुमिगत गर्ने, धरान धनकुटा १३३ केभी प्रसारण हाइटेन्सन लाइनको एलाइन्मेन्ट परिवर्तन गर्न पनि अुनरोध गर्ने जानकारी दिइएको छ । 

  यस्तै, कोशी नदी, बराहक्षेत्र, चतराधाम क्षेत्रमा तटबन्ध निर्माण गर्न, सर्दु र सेउती खोला तटबन्धन गर्नं, धरान ५ र १७ मा प्रादेशिक प्रर्दशनी केन्द्र स्थापना गर्न, वीपी पार्कको गुरुयोजना वमोजिम बजेट दिन, नाटक घर निर्माण, सप्तरंगी पार्क पुर्वाधार विकास गर्न, चतरा बराहक्षेत्रको पुर्वाधार विकास गर्न, बहुजातीय संग्रहालय निर्माण गर्न, धरान २० मा दलित संग्रहालय निर्माण गर्न, विजयपुर दरबार क्षेत्र संरक्षण गर्न पनि बजेट माग गर्दै टोली राजधानी हिडेको हो । 

यसैगरि, धरानको मंगलबारे, विष्णुपादुका, आहाले, धनकुटा हुदै तमोर करिडोरसम्म सडक निर्माण गर्न, धरानको हरियाली इचोल सडक निर्माण गर्न, धरान ४ र ५ स्थित खैरेनी ठिंगाबारी हर्दिया सडक, चतराको मिलनचोकदेखि सुर्यकुण्ड वरडाडा सडक, धरान चिण्डेडाँडा सडक र धरान चतरा, त्रिवेणी, टकसार, भोजपुर सडक निर्मांणको लागि पनि बजेट माग गर्ने नेताहरुले जानकारी दिएका छन् । धरान विमानस्थलको जग्गा व्यवस्थापन गर्न, बीपी प्रतिष्ठानको शिक्षक, कर्मचारीको वृत्तिविकास तथा एमआरआई मेशिन खरिद, कार्डियोलोजी र अंकोलोजी सेन्टर स्थापना, आइसियु र डायलाइसिस सेवा विस्तार गर्न पनि बजेट माग गरिने भएको छ । यसैगरि, कृषि क्षेत्रको विकासको लागि पनि बजेट माग हुनेछ भने कोशी लोकमार्गको मापदण्डबारे पनि प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयमा पनि छलफल गरिने कांग्रेस सभापति पोखरेलले जानकारी दिए ।