धरान: धरानका मेयर हर्क साम्पाङले इटहरीको एक इञ्च पनि भुमि नमिच्ने तर नेपाल सरकारले नै जारी गरेको नक्सा अनुसारको सिमा नछोड्ने बताएका छन् ।
छिमेकी इटहरी उपमहानगरपालिकासँग सिमा विवाद चर्किएपछि आज कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले औपचारिकरुपमा यस्तो अभिव्यक्ति दिएका छन् । उनले नेपाल सरकार, नापी विभागले नै जारी गरेको नक्सा अनुसारको सिमानामा केही दिनअघि धरानको सिमा प्रारम्भ भएको बोर्ड राखेको बताए । उनले भने,‘एक इञ्च पनि इटहरीको भुमि मिच्दैनौं, तर आफ्नो सिमाना छोड्दैनौं ।’
इटहरी उपमहानगरपालिकालाई चित्त नबुझे सम्पर्क गरेर सोधे पनि हुने भन्दै मेयर साम्पाङले राती नै एक समुह झण्डा लिएर आएर बोर्ड उखेलेकोमा आपत्ति जनि जनाए । साथै उनले इटहरीका मेयरले ती युवाहरुलाई कारबाही भयो भने जिम्मेवारी धरानका मेयरले लिनुपर्ने अभिव्यक्ति दिएकोमा पनि आपत्ति जनाए । ‘मैले के जिम्मेवारी लिने हो ? स्थानीय सरकारले लगाएको सरकारी बोर्ड कथित समुहले उखेलेर फाल्न मिल्छ ? के भन्न खोेजेको ? के गर्न खोजेको ? राज्य छैन ? त्यही राज्यलाई म सोध्न चाहन्छु,’उनले भने ।

मेयर साम्पाङले तथ्यलाई जित्न नसकिने भन्दै नेपाल सरकार र नापी विभागले जारी गरेको नक्सा आधिकारिक भएको बताए । उनले सोही आधारमा आफ्नो सिमानाभित्र बोर्ड राखेको बताए । बोर्ड उखेलेर लैजाने समुहलाई कानुन वमोजिम कारबाही गर्न जिल्ला प्रशासनमा पत्राचार गरिसकेको जानकारी दिदै मेयर साम्पाङले भने,‘सिमाना भत्काउने, अराजकता मच्चाउने छुट कसैलाई छैन । कानुन वमोजिम कारबाही हुनुपर्छ, र त्यो बोर्ड त्यही राख्नुपर्छ ।’
उपमेयर बेघाले पनि नापी विभागबाट जारी भएको नक्साको आधारमा सिमानामा बोर्ड राखेको बताए । सबै स्थानीय तहले सिमाना कायम गर्नुपर्ने भन्दै उनले धरानको सिमा क्षेत्रमा पर्यो भन्दैमा दक्षिणका जनतालाई प्राकृतिक सम्पदा उपभोग गर्नमा रोक नलगाउने पनि बताए । ‘प्राकृतिक सम्पदा, पानी उतैका जनताले उपभोग गर्छन्, तर हाम्रो साँधसिमाना यहाँसम्म हो है भनेको हो । हाम्रो सिमाना यहाँसम्म हो भन्न त पाइन्छ नि,’उनले भने ।
योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले पनि प्रहरीले गस्ती गरेको आधारमा स्थानीय तहको सिमाना कायम हुन्छ भन्नु तथ्य संगत नहुने बताए । सरकारले प्रमाणित गरेर दिएको आधिकारिक नक्साको आधारमा छलफल हुनुपर्ने बताउदै उनले भने,‘प्रमाणिकरण भएको नक्सा मान्दिन भन्नु न्यायसंगत हुदैन ।’
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



