धरान: धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सिमाना पानीपिया क्षेत्र नै भएको बताएका छन् । 

श्रेष्ठका अनुसार धरानको यो दाबी गुगल म्यापको आधारमा मात्र नभै नेपाल सरकारको नापी विभागबाट जारी भएर नेपालभरि प्रयोग गरिने आधिकारिक नक्सा अनुसार पनि हो । 'इटहरी र धरानको आधिकारिक सिमाना र क्षेत्रफल यही नै हो । नापी विभागमा पनि यही हो । यसैको आधारमा नेपाल सरकारबाट सुत्रमा आधारित अनुदान आउछ,'फोन सम्पर्कमा उनले भने । 

साविक हासपोसा गाविसको कृषि फाराम उत्तरतिर शान्तिनगर जाने बाटोभन्दा ३३२ मिटर उत्तरदेखि धरानको सिमाना शुरु हुने श्रेष्ठले बताए ।  त्यस ठाँउबाट २.९५ किलोमिटर उत्तारसम्म राजमार्गको पश्चिमपट्टी धरान र पूर्वपट्टी ईटहरी पर्छ । त्यस स्थानपछिको उत्तरतर्फ राजमार्गको दुबै पट्टि धरान पर्ने उनले बताए । उक्त स्थानबाट सेउती खोलाको पूल २.४१ किलोमिटर अझै उत्तरपट्टी पर्छ । 'यो गुगल म्यापले मात्र होईन नेपाल सरकारको नापी विभागबाट जारी भई नेपालभरि प्रयोग गरिने नक्शा हो,'श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'यसैको आधारमा धरानको क्षेत्रफल १९२.३२ वर्ग किलोमिटर र ईटहरीको क्षेत्रफल ९३.७८ वर्ग किलोमिटर नेपाल सरकारले कायम गरिदिएको हो ।' 

इटहरी र धरानको सिमाना पानीपिया भएपनि कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुललाई मानिदै आएको छ । सेउती खोला दक्षिणको सामुदायिक वन क्षेत्र इटहरी क्षेत्रले संरक्षण, भोगचलन गर्दै आएका छन् । तर ईञ्जिनियर श्रेष्ठ भने वन क्षेत्र एक वा एक भन्दा बढी स्थानीय तहले भोगचलन गर्दैमा सिमाना त्यही हुनुपर्छ भन्नु उचित नभएको बताउँछन् । 'एउटा सामुदायिक वन २ वा २ भन्दा बढी स्थानीय तहमा परेको थुप्रै उदाहरण छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष ६ वटा स्थानीय तहमा पर्छन्,'उनले भनेका छन्,'त्यस्तै नेपाल प्रहरीको गस्ति गर्ने क्षेत्र काठमाण्डौ उपत्यकाभित्र पर्ने स्थानीय पालिकाको सिमाना अनुसार नभई सहजताका आाधारमा हुन्छ । नेपाल प्रहरीले सेउतिसम्म गस्ति गर्छ वा सामुदायिक वनले हेरेको छ भन्दैमा स्थानीय तहको सिमाना पनि त्यही हुनुपर्छ भन्नू उचित होईन ।'

आइतबार धरानको सिमा प्रारम्भ भएको बोर्ड धरान उपमहानगरपालिकाले पानीपिया क्षेत्रमा राखेको थियो । सोही राती राष्ट्रिय युवा संघ इटहरीले उक्त बोर्ड उखेलेर फालेपछि धरान र इटहरीको सिमाना विवाद शुरु भएको थियो । विगतमा पनि सिमाना विवाद हुँदा आपसी छलफल, संवादबाट हल गर्ने समझदारी भएपनि टुंगोमा पुग्न सकेको थिएन ।