धरान: धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एस) का अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुने गरि नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटक पटक धावा बोलिरहेको पनि विज्ञप्तीमा उल्लेख छ ।

नेपाली प्रेसको अग्रसरता र भुमिका विना नेपालको लोकतान्त्रिक आन्दोलन सम्भव नहुने स्मरण गराउदै दलहरुले प्रेसले गरेको आलोचनालाई आफ्नो विरोधकोरुपमा लिएर आफुलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रस्तुत गरिरहेको व्यवहार सुधार गर्न पनि दलहरुले मेयर साम्पाङलाई सचेत गराएका छन् । विज्ञप्तीमा भनिएको छ,‘नियोजित उद्देश्य पुरा गर्न र सस्तो प्रचारबाजीका लागि मर्यादित प्रेसमाथि गरिरहेको अमर्यादित व्यवहार र टिप्पणीलाई तत्काल सुधार गरी स्वतन्त्र प्रेसप्रति सम्मान गर्न आग्रह गर्दछौं ।’

press