धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज हुने भनिएको सम्झौता कार्यक्रम स्थगित भएको छ ।
दिउँसो १ बजे मेयर धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली सम्झौताको लागि बराहक्षेत्र नगरपालिका जाने तयारी थियो । तर, दिउँसो अचानक बराहक्षेत्रबाट आजको कार्यक्रम स्थगित भएको टेलिफोनमार्फत जानकारी आएपछि धरानको टोली पनि रोकिए । मे दिवस परेको कारण सम्झौता कार्यक्रम स्थगित भएको जानकारी आएको मेयर साम्पाङले बताए । उनले भने,‘दिउँसो फोन आएर आज मे दिवस परेकोले स्थगित गर्ने कुरा भयो । अब भोली जान्छौं ।’
कोकाहाको पानी धरान लैजान समन्वय र सहमति विना काम भइरहेको भन्दै बराहक्षेत्र नगरपालिकाले असन्तुष्टी जनाएपछि बैशाख ६ गते छलफल भएको थियो । पुनः सिमाना विवाद पनि थपिएपछि बराहक्षेत्रले धरान उपमहानगरपालिकाको संस्थागत निर्णय भएको हुनुपर्ने र जिल्ला समन्वय समितिको रोहबरमा सम्झौता हुनुपर्ने सत अघि सारेको थियो । त्यसपछि, शनिबार पुनः धरानका मेयर साम्पाङ र उपमेयर बेघासहितको टोली जिल्ला समन्वय समितिका सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्रसँग वार्तामा बसेको थियो । उक्त वार्तामा बराहक्षेत्रले राखेको मागहरुको बिषयमा २ दिनभित्र लिखित सम्झौता गर्ने सहमति भएको थियो ।
बराहक्षेत्रले विभिन्न ४ बुँदा माग राखेको थियो । जसमा कोकाहा पानी धरान लैजानको लागि धरान उपमहानगरपालिकाबाट र खानेपानी बोर्डबाट संस्थागत निर्णय भएको हुनुपर्ने, वातावणीय प्रभावको जिम्मेवारी लिनुपर्ने र निःशुल्क पानी वितरण नगर्ने भए रोयल्टी दिनुपर्ने माग राखेको थियो ।