धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीद्धारा धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर हर्क साम्पाङले मिडिया र पत्रकारबारे दिएको अभिव्यक्तिप्रति वक्ताहरुले प्रश्न उठाएपछि उपमेयर बेघाले यस्तो धारणा व्यक्त गरेका हुन् । यद्यपी उनले मेयर साम्पाङले बोलेको बिषयमा भने आफुले जवाफ दिन नमिल्ने पनि बताए । उनले भने,‘उहाँले कुन सेन्सबाट भन्नुभयो, कुन ढंगले पुष्ट्याई गर्नुहुन्छ, त्यस सवालको जवाफ उहाँले दिनुपर्छ, दिनुहुनेछ भन्ने लाग्छ । उहाँको बारेमा टिकाटिप्पणी गरिन ।’
उपमेयर बेघाले दलहरुलाई मिलाएर लैजाने, समस्याहरुलाई व्यवस्थापन गर्ने तथा जनप्रतिनिधिहरुको भुमिकालाई जोडाएर लैजाने जिम्मा र दायित्व नगर प्रमुखकै भएको पनि बताए । उपमहानगर अहिले बजेट निर्माणको प्रक्रियामा रहेको भन्दै उनले त्यसलाई विधि र प्रक्रियाबाट नै परित गर्नुपर्ने पनि बताए । ‘मेयरले पनि बजेट यो ढंगले घोषणा गर्छु भन्न पाउनुहुन्न, वडाअध्यक्षहरुले पनि यो ढंगले दिदैनौं भन्न पाउनुहुन्न । प्रक्रिया र विधिमा गएर हुनुपर्छ,’उनले भने,‘यो भनिरहदा उपमेयरलाई कित्ता क्लियर गर्नुपर्छ भन्छन् । म चै अराजकताको विपक्षमा छुँ, विधि प्रक्रियाको पक्षमा छुँ । चाहे त्यो मेयरले मिचेको होस्, वा वडाअध्यक्षहरुले मिचेको होस् ।’
उपमेयर बेघाले कार्यपालिकाको प्रश्नलाई गम्भीरताको साथ लिएर व्यवस्थापनको प्रयास र पहलहरु भइरहेको पनि बताए । कसैले जुधिहाल भन्ने, कसैले मिला मिला भन्ने र कसैले अर्कोलाइनतिर लागिहाल भन्ने गरेको खुलाउदै उपमेयर बेघाले भने,‘म कसैको लाइनमा लाग्दिन । जनताको लाइनमा हुन्छु । धरानको पक्षमा हुन्छु, धरानको आवश्यकतालाई व्यवस्थापन गर्ने लाइनमा हुन्छुँ ।’
उनले मेयर साम्पाङले पनि धरानलाई विधि, पद्दती र प्रक्रियामा हिडाउनुपर्ने र वडाअध्यक्षहरुले पनि त्यसमा साथ र सहयोग गरेर अघि बढ्नुपर्ने बताए । ‘समस्या कहाँ परेको हो, सँगै बसेर व्यवस्थापन गर्ने दिशातिर अघि बढ्नुपर्छ,’उनले भने,‘मेयर साबले वडाअध्यक्षहरुलई पेलेरै लान्छु, नगरपालिका म एक्लैचलाउछु भन्ने सोच्नु हुदैन । वडाअधयक्षहरुले पनि यो गर्छु र त्यो गर्छु भन्नु हुदैन । निकास के हो त, मध्यमार्गी बाटो के हो, त्यसतर्फ जानुपर्छ ।’
भिडियो: