सुनसरी: पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सुबिधासम्पन्न सभाहलको शिलान्यास गरिएको छ । 

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७ सय ५० सीट क्षमताको सभाहल बनाइदिन लागेको हो । सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन उक्त बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ । सभाकक्ष र बैकको शाखा कार्यालयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको र भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य नहुदा विश्वविद्यालयमा विकृति आएको बताए । विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भैरहेको पनि मन्त्री राईको भनाई थियो । आफु मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षाक्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको पनि उनले बताए । 

शिक्षाक्षेत्र सुधारका लागि आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धी हासिल गरेको जानकारी आफूले पाएको मन्त्री राईले बताए । विश्वविद्यालयहरुले सधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्न प्रयास गर्नुपर्ने पनि उनले बताए । 

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्शा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने बताए । दुवैले आगामी शैक्षिक सत्रदेखी एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेकोले साथ सहयोग गर्न आग्रह गरेका थिए ।