धरान: बाँझगरा वन समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा सब डिभिजन वन कार्यालय धरानले टुना काठ वरामद गरेको छ । 

बिशेष सुचनाको आधारमा सोमबार दिउँसो जेसिबिसहित पुगेको पाँचकन्या सबडिभिजन कार्यालयको टोलीले २८ थान टुना वरामद गरेको जनाएको छ ।वरामद भएको टुनाहरु वन समुहले नै गाडेर लुकाएको पाइएको छ । डिभिजन प्रमुख महेशकुमार साहका अनुसार ती वरामद गरिएको टुनाको मुचुल्का तयार गरेर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिनेछ । पहिलो शंको घेरामा बाँझगरा वन समुह भएकोले अनुसन्धानको क्रममा आवश्यक पत्राचार गरिने पनि उनले बताए । गाडेर लुकाइएको कारण ती टुना काठ रितपुर्वक राखेको नदेखिएको पनि साहले बताए । ‘यसमा रितपुर्वक काम नभएको देखियो । नियमविपरीत नै देखिन्छ,’उनले भने,‘वन ऐन वमोजिम अनुसन्धान र कारबाही हुन्छ ।’

वन कार्यालयलाई वन समुहका उपभोक्ता दिनेश पौडेलले खबर गरेका थिए । उनका अनुसार गाडी रहेको थाह पाएपछि आफुले सोधपुछ गर्दा शुरुमा ५,६ वटा भनेको र पछि २४ वटा जति छ भनेर जानकारी दिएको थियो । पछि २० गतेको बैठकमा कुरा हुँदा निकाशा गर्दा बढी आएर लुकाएको जानकारी दिएको उनले बताए । ‘खाल्डा खनेर किन लुकाएको भनेर सोध्दा कन बाठो भएको, के को चासो भन्दै ट्वाइलेटमा नै थुनेर पनि काम गछौं भनेर धम्की पनि दियो,’उनले भने ।

ban copy

वनका पदाधिकारीहरुले भने वन कार्यालयबाट अनुमति पाएकै रुख कटान हुँदा दाउराकोरुपमा वितरण गर्नुपर्ने टुप्पा र हाँगाबाट पनि चिरान काठ निस्कने देखिएकोले लुकाइएको स्वीकारेको छ । यद्यपी, ती टुना तस्करीको वा अन्य बिक्री गर्न नभै वन समुहकै बन्न लागेको भवनमा उपभोगी हुने र उपभोक्तालाई पनि थप वितरण गर्न सकिने भएकोले गाडेर लुकाएको उपाध्यक्ष कुमार भारतीले बताए।

उपाध्यक्ष भारतीका अनुसार वन समुहलाई जति क्युफिट निरान काठ दिने भनेर स्वीकृति मिलेको हुन्छ, त्यो भन्दा बढी निस्किएमा चिरान आदेश पाइदैन । यस्तै, उपभोक्तालाई वितरण गर्ने दाउरा पनि अनुमति भन्दा बढी राख्न पाइदैन । त्यसैले दाउरा बनाउनुपर्ने टुप्पा र हाँगाबाट पनि चिरान काठ निस्कने देखिएकोले निकाशा समितिले गाडेर सुरक्षित राखेको उनको भनाई छ । ‘यो कतै बाहिर मिलमा वा जंगल भित्र गाडेको होइन । यही कार्यालय नजिकै हो,’उनले भने,‘व्यक्तिगत फाइदाको लागि होइन, उपभोक्ताकै लागि राखेको हो ।’

अध्यक्ष राजन मोक्तानले पनि चैत १७ गते निकासा समिलिते गाडेको र २० गते कार्यसमिति बैठकमा जानकारी गराएको बताए । पुनः कार्यसमितिलाई देखाएर मुचुल्का गर्न जेसिबि बोलाएपनि केही युवाहरुले विरोध गरेपछि जेसिबि फर्काएको उनले बताए । वन कार्यालयबाट कटान आदेश विपरीत कुनै पनि रुख नकाटिएको दाबी गर्दे उनले अहिले पनि स्थलगत अवलोकन गर्दा बढी काटेको देखिए कानुन वमोजिम कारबाही भोग्न तयार भएको उनले बताए । 

भिडियो: