धरान: धरान वडा नं १७ को कार्यालय भित्र टोल विकास संस्थाका प्रतिनिधिसँग वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)को उपस्थितिमा बैठक भइरहदा एक वडाबासीले भिडियो खिचेपछि लफडा भएको छ ।

आइतबार टोल विकास संस्था (टिएलओ)हरुले विकास रोकिएको भन्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । सोही बिषयमा वडाअध्यक्ष भट्टराईसमेतको उपस्थितिमा टिएलओहरुको बैठक भइरहेको थियो । सोही बैठकमा क्रान्ति क्रान्ति नामको फेसबुक चलाउने वडा १७ कै व्यक्तिले भिडियो खिचेपछि लफडा भएको हो । हात हालाहालको अवस्था भएपछि तत्कालै वडाअध्यक्ष भट्टराईले प्रहरी बोलाएर पक्राउ गराएको पनि भिडियोमा देख्न सकिन्छ ।

घटना पछि कार्यवाहक वडाअध्यक्ष मनिष बिष्टले ईलाका प्रहरी कार्यालय धरानमा ३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । विष्टले वडा १७ का ३५ बर्षीय ललित राई, २४ बर्षीय लाक्पा तेञ्जी शेर्पा र ६५ बर्षीय गोविन्द बहादुर श्रेष्ठविरुद्ध जाहेरी दिएका छन् । उनीहरुलाई नै प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जाहेरीमा टिएलओ बैठक बसिरहेको बेला अनावश्यक हो हल्ला गर्दै बैठक कोठामा प्रवेश गरेर अवरोध गरेको र भिडियो खिच्न थालेपछि हो हल्ला नगर्न र भिडियो नखिच्न आग्रह गरेको कार्यवाहक वडाअध्यक्ष विष्टले उल्लेख गरेका छन् । आफ्नो अनुरोध पछि पनि तथानाम गालीगलौज, अपशब्द प्रयोग गर्ने र टेवल कुर्सी तोडफोड गर्न खोजी अभद्र व्यवहार गरेकोले पक्राउ गरि कारबाही गर्न र शान्ति सुरक्षा कायम गर्न विष्टले माग गरेका छन् ।

घटना के भएको थियो ? 

मेयरसँग झगडा हुँदा विकास कार्य रोकिएको भन्दै आइतबार वडा १७ को विभिन्न टिएलओहरुले वडा कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको थियो । सोही बिषयमा सोमबार टिएलओ प्रतिनिधिहरुसँग वडाअध्यक्ष भट्टराईकै उपस्थितिमा बैठक बसेको थियो ।  उक्त बैठकमा क्रान्ति क्रान्ति फेसबुक अकाउण्टबाट भिडियो खिच्दै एक व्यक्ति पुग्छन् । उनी ललित राई भएको बताइएको छ । उनी आइतबार पनि ज्ञापन पत्र बुझाउन वडा कार्यालय गएको र वडाअध्यक्षविरुद्ध अभिव्यक्ति दिएको बताइएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको सोमबारको घटनाको भिडियोमा वडाअध्यक्ष भट्टराईले भिडियो किन खिचेको ? पत्रकार हो भाई ? भनेर प्रश्न गरेका छन् । भिडियो खिच्ने व्यक्तिले 'म मिडिया होइन, जनता हो' भन्दै जवाफ दिदै भिडियो खिच्न पाउने अधिकार भएको जिकिर गर्छन् । त्यहाँ उपस्थित अन्य व्यक्तिहरुले अरुको भिडियो त खिच्न पाउदैनौं नि भनेर उनलाई आक्रोश पनि पोखिरहेको सुनिन्छ । विवाद बढ्दै गएपछि हात हालाहाल भएको भिडियोमा देखिन्छ । केहीबेरमा भिडियो खिच्ने व्यक्ति 'अब चै म सहदिन' भन्दै वडा कार्यालय बाहिर निस्कदै 'मलाई बक्सिङले हानेको छ' भन्छन् । त्यसैबेला वडाअध्यक्ष भट्टराई प्रहरी लिएर आइपुग्छन्, र भिडियो खिच्ने व्यक्ति समातिएको देख्न सकिन्छ ।