धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोकाहा खानेपानी आयोजना मेयर वा खानेपानी बोर्डका सदस्य हर्क साम्पाङको हो कि अभियन्ता हर्क साम्पाङको हो भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै पुर्वमेयर मेन्याङ्बोले यो आयोजना मेयर साम्पाङले सञ्चालन गरेको हो भने नगरको नीति तथा कार्यक्रममा समावेश गर्न पनि सुझाव दिएका छन् । नीति तथा कार्यक्रममा पार्न नसकिएको भए कार्यपालिका बैठकबाट अनुमोदन गराएर कार्यक्रमलाई नियमित गराउनुपर्ने पनि उनले टिप्पणी गरेका छन् । तर यी दुवै प्रक्रियाहरु पुरा नगरेको उनको भनाई छ । 'मेरो बिचारमा यदी अभियन्ता साम्पाङ्गले गर्नु भएको हो भने मलाई भन्न केही छैन , होइन मेयर साम्पाङ्ग ले गर्नु भएको हो भने नगरपालिकाको नीति तथा कार्यक्रमम़ा ल्याउनु परो, नीति तथा कार्यक्रमम़ा पार्न नसकिएको भए कार्येपालिका बैठकद्वारा अनुमोदन गराएर कार्यक्रम लाई नियमित गराउनु पर्थियो,' उनले भनेका छन् ।

manoj-menyambo

प्रक्रिया पुरा नगरेको अवस्थामा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले असहयोग गरे भन्ने प्रचारबाजी गरेर विवादमा ल्याउने र आफु ओभानो भएको भ्रम छर्न मेयर साम्पाङ सफल देखिएको पनि पुर्वमेयर मेन्याङ्बोले बताएका छन् । 'मेयरका यी भ्रम चिर्न वडाअध्यक्षहरु हालसम्म असक्षम देखिन्छन,' उनले भनेका छन्, 'यदि कार्यपालिका सदस्यहरुलाई पनि जवाफदेही बनाउने हो भने कोकाह खानेपानी आयोजनालाई कानुनी र व्यवहारिक रुपमा नियमित गराएर सरकारी आर्थिक नियमानुसार मात्र बैंक खाता खोलेर चेक र खर्च भौचर भरेर मात्र आम्दानी तथा खर्च गर्न सकिन्छ ।'

कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी हर्क साम्पाङ्गले आफु खुशी संचालन गरिएको योजनामा कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुलाई जबजस्ती जवाफदेही बनाउन नसकिने पनि उनले उल्लेख गरेका छन् । यो आयोजनालाई पहिला ऐन नियम र कानुन अनुसार नियमित नगराउने हो भने कसैलाई दोष नथोपारिकन अभियन्ता हर्क साम्पाङ्गद्वारा संचालित आयोजना घोषणा गरेर सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता आफै लिएर जानुपर्ने पनि उनले सुझाव दिएका छन् । 'मेरो बिचारमा कसैलाई दोषारोपन र गालिगलौज गरेर धरानको सामाजिक, राजनीतिक तथा जातीय सद्भाव भड्काएर द्वन्दको अवस्था सृर्जना गर्नु सर्वथा गलत हुनेछ । कुनै पक्षबाट पनि एस्तो हर्कत नहोस्,'उनले भनेका छन् ।