धरान: प्रेस स्वतन्त्रताप्रति मेयर हर्क साम्पाङको प्रतिवद्धता नआएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर्दे आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । यसअघि महासंघले गएको आइतबार तीन दिनभित्र प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिवद्धता सार्वजनिक गर्न र धम्की, गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएको थियो । मेयरले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेपनि प्रेस स्वतन्त्राप्रति उपहानगरपालिकाको प्रतिवद्धता नआएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।
महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले जारी विज्ञप्तीमा बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।
यस्तै, बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पुर्वनगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि आन्दोलनको कार्यक्रममा समावेश गरिएको छ ।