धरान: योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)ले मेयर हर्क साम्पाङलाई आफ्नो हैसियत बिर्सिएर सामाजिक सञ्जालमा जथाभावी नलेख्न र नबोल्न चेतावनी दिएको छ ।

वाइसिएल धरानका संयोजक दिपक तामाङले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर साम्पाङलाई यस्तो चेतावनी दिएका हुन् । मेयर साम्पाङले मंगलबार राती आफ्नो फेसबुक पेजबाट ‘मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने ? इन्द्रको अघि स्वर्गको बखान’ भन्दै जनयुद्ध लडेर आएको पार्टी नेकपा माओवादी केन्द्रप्रति आक्रोश पोखेका थिए । 

मेयर साम्पाङको यो अभिव्यक्तिले सहिदहरुपको अपमान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको भन्दै वाइसिएलले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । दश बर्षे जनयुद्धको जगमा स्थापित संविधानको आधारमा बनेको स्थानीय सरकारको नेतृत्वले जनयुद्धप्रति बिषवमन गर्नु दुःखद भएको पनि विज्ञप्तीमा उल्लेख छ । वाइसिएलले सामाजिक सञ्जालमा जथाभावी नलेख्न, नबोल्न भन्दै अराजकतापुर्ण व्यवहार, अशिष्ट बोली सच्याउन र धरानको विकासमा केन्द्रीत हुन अपिल पनि गरेको छ ।संगठनको माग पालना नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिदै वाइसिएलले उक्त परिस्थितिबाट उत्पन्न हुने सबै समस्याको जिम्मेवारी नगर प्रमुखले नै लिनुपर्ने पनि जनाएको छ । 

ycl