धरान: मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको पछिल्लो विवाद सुल्झिएको छ ।

सचेत धराने समुहको पहलमा आज कार्यपालिका बैठक कक्षमा करिब ३ घण्टा भएको छलफलले विवाद अन्त्य गर्दै नयाँढंगले अघि बढ्ने सहमति भएको हो । सहमति अनुसार आइतबार दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाइएको छ । वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)का अनुसार बैठक बस्ने पत्र पनि उपमहानगरपालिकाबाट वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई पुगिसकेको छ ।

बैठकमा सचेत धराने समुहका टिमसँगै मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १८ का अध्यक्ष राई, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराई, वडा २ का अध्यक्ष रमेश राई सहभागी थिए । हिजो (बिहिबार) सचेत धराने समुहसँग वडा १८ का अध्यक्ष राईले छलफल गरेर आजको बैठक बस्ने वातावरण तयार गरेका थिए । यसअघि पनि आइतबार सचेत समुहको पहलमा मेयरसँगै वडा १७, १५ र १८ का अध्यक्षहरुले छलफल गरेर कार्यपालिका बैठक बस्ने समझदारी गरेपनि वडा १७ को घटनापछि विथोलिएको थियो ।

आजको बैठकमा सबैले आआफ्नो मनमा लागेको कुरा खुलस्त प्रकट गरेको र कमीकमजोरी सच्याएर लैजाने प्रतिवद्धता जनाएको वडा १८ का अध्यक्ष राईले बताए । मेयर साम्पाङले पनि फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी नलेख्ने, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु २८ जनाको राजिनामा माग गरेको बिषय फिर्ता लिने पनि समझदारी भएको छ । ‘आजको बैठक धेरै नै राम्रो भयो, सबैले मनमा लागेको कुरा पोख्नुभयो । अब फेरि यस्तो घटना नदोहोरिएला भन्ने आशा छ,’वडा १८ का अध्यक्ष राईले भने ।

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि विगतको सबै कुरा पोखिएको र नयाँ ढंगले अघि बढ्ने निष्कर्षमा बैठक पुगेको बताए । विगतका आआफ्नो सिमा र कमीकमजोरीलाई स्वीकार गर्दै यो गतिरोध अन्त्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर भएको छ । ‘आजको बैठकमा हामी सबैको जुन खालको प्रतिवद्धता छ, त्यो पुरा भयो भने कार्यशैली सुधार हुनेछ, र हामीले आफ्नो कार्यशैली सुधार गर्यौं भने विवाद हुदैन,’उनले भने ।

मेयर साम्पाङको स्वकीय सचिवले वडा कार्यालयमा पठाएको पत्रको विवादले गत चैत १ गते कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको थियो । त्यसयता मेयर साम्पाङले बोलाएको बैठक वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गर्दै आन्दोलनमा थिए । मेयर साम्पाङ र उनका समर्थकहरुले वडाअध्यक्षहरुविरुद्ध गालीगलौज गर्दै सामाजिक सञ्जालमा आक्रमण गर्ने गरेका थिए भने राजनीतिक दलका कार्यकर्ताहरु पनि मेयर र उनका समर्थकहरुविरुद्ध खनिने गरेका थिए ।