धरान: गत चैत १ गते एजेण्डामा प्रवेश नगरि कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच फेरि विवाद चर्कियो । 

त्यसपछि लगातार तीन पटक कार्यपालिका बैठक बोलाउदा पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु आएनन् । कार्यपालिका बैठक बस्न नसक्दा आगामी आर्थिक बर्षको बजेट तयारीलगायतका महत्वपुर्ण बिषयहरु प्रभावित छन् । विवाद बढ्दै गएर उपमहानगरपालिका अनिर्णयको बन्दी बनेपछि चौतर्फी चासो र चिन्ता व्यक्त हुन थालेको थियो । मेयर र वडाअध्यक्षहरुको विवाद हल गर्न उपमेयर अइन्द्रबिक्रम बेघाले प्रयास गरिरहेका थिए भने सुनसरी उद्योग वाणिज्य संघले पनि पहल थालेको थियो । तर, परिणम निस्कन सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अभियन्ता सरिन तामाङले पनि वडाअध्यक्षहरुसँग भेटेर बैठक बस्ने वातावरण तयार गर्दे थिए । 

यसैबीच, मेयर साम्पाङको श्रमदान अभियानमा निरन्तर साथ दिएको सचेत धराने समुहले यो गतिरोध अन्त्यको लागि पहल थाल्यो । समुहका युवाहरुले कार्यपालिकामा रहेका पार्टीका संसदीय दलका नेताहरु वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष नरेनद्रकुमार राई (प्रविण) र वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (प्रविण)लाई भेटे । त्यसपछि, मेयर साम्पाङलाई पनि भेटेर सामुहिक छलफल गर्ने वातावरण तयार गरेका थिए ।

सचेत धरानेकै प्रयासमा बैशाख २४ गते (आइतबार) मेयर साम्पाङसँग तीन जना वडाअध्यक्षहरुको गोप्य बैठक भएको थियो । उक्त बैठकमा मेयर साम्पाङ र वडाअध्यक्षहरुले ५ बँुदे मागको बिषयसँगै विविध कुरामा धेरै छलफल गरेका थिए । त्यही बैठकले कार्यपालिका बैठकको गाँठो फुकाउने समझदारी पनि भएको थियो । अब केही दिनभित्र मेयर साम्पाङले बैठक बोलाएर सौहार्दरुपमा कार्यपालिका बैठक सुचारु हुने अपेक्षा गरिरहदा सोमबार र मंगलबार वडा १७ कार्यालयमा भएको घटनाले आइतबारको समझदारी भाडिएको हो कि भन्ने आशंका जन्मिएको छ । ‘अब समस्या हल हुने भयो भनेर हामी त धेरै आशावादी थियौं, तर वडा १७ को घटनाले महोल बिग्रिए जस्तो भयो,’ सचेत धराने समुहका एक सदस्यले भने,‘तर हामी अझै प्रयास गरिरहेकै छौं ।’ 

मंगलबार वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले जारी गरेको संयुक्त प्रेश विज्ञप्तीमा पनि विकास र संवृद्धिको मार्गलाई अगाडि बढाउन अत्यन्तै लचक बनेर मेयरसँग अनौपचारिक छलफल भएको खुलाएका छन् । उक्त छलफलमा मेयरले कार्यपालिका सदस्यहरुलाई मागेको राजिनामा फिर्ता गरि कार्यपालिका बैठक बस्ने वातावरण बनाउने अनौपचारिक समझदारीसमेत भइसकेको सन्दर्भमा वडा १७ को नियोजित घटना घट्नुले धरानको लागि अन्त्यन्तै दुर्भाग्यपुर्ण रहेको विज्ञप्तीमा उल्लेख छ । यो विज्ञप्तीमा अब कार्यपालिका बैठक नबस्ने कि नबस्ने भन्ने खुलाइएको छैन । तर वडा नं १७ मा आइतबार टिएलओको नाम गरेर ज्ञापन पत्र बुझाउन जाने समुह र सोमबार टिएलओ बैठक भइरहदा भिडियो खिच्ने, हुलहुज्जत गर्नेहरु मेयर साम्पाङ, उनका समर्थकहरुको उक्साहटमा गएको भन्ने आरोपले कार्यपालिका बैठक बस्ने समझदारी पनि भाँडिएको हो कि भन्ने आशंका छाएको छ ।

यद्यपी, वडा नं १८ का वडाअध्यक्ष तथा कांग्रेस संसदीय दलका नेता नरेन्द्रकुमार राई (प्रविण)ले भने कार्यपालिका बैठक बस्ने समझदारी भाँडिन नदिन पहल भइरहेको बताउँछन् । ‘आइतबार एकदमै राम्रो छलफल भएको हो । पार्टीहरुमा पनि छलफल गर्यौं, हामीबीचको समझदारीलाई पार्टीले पनि मानेको थियो,’वडाअध्यक्ष राईले भने,‘अझै पनि पहल भइरहेको छ । समाधान गर्नुपर्छ, एकदुई दिनमा समाधान हुन्छ ।’

यता, सचेत धराने समुहले पनि मेयर र वडाअध्यक्षहरुबीच पहिलो चरणको वार्ता सम्पन्न भइसकेको र सकरात्मक परिणाम आइरहेको अवस्थामा सोमबार वडा १७ को कार्यालयमा भएको घटनाले दुःखित बनाएको जनाएको छ । समुहले आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजकि गर्दै अझै पनि मेलमिलापको वातावरण तयार गर्न प्रयासरत रहेको जनाएको छ । समुहले आफुहरु समुहगतरुपमा कसैको पक्षमा नउभिई मात्र धरानको पक्षमा उभिने पनि स्पष्ट पारेको छ । समुहले वडाअध्यक्षहरुलाई आफ्नो पार्टीको नीति, निर्देशन वा व्यक्तिगत स्वार्थ त्यागेर धरान र धराने जनतालाई गरेको वाचा र प्रतिवद्धताप्रति इमान्दार भई काम गर्न आग्रह गरेको छ भने मेयर साम्पाङलाई पनि नगरको अभिभावक भएको हैसियतले असल अभिभावकत्वको भुमिका निर्वाह गर्न र कसैलाई रुष्ट बनाउने, होच्याउने प्रकारका शब्दहरुको प्रयोग नगरि सबैलाई समेटेर अघि बढ्नको निम्ति अनुरोध गरेको छ ।