धरान: दुई महिनापछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर शिक्षा समितिमा २ जना सदस्यलाई मनोनयन गरेको छ ।
आइतबार बसेको कार्यपालिका बैठकले उपमहानगरपालिकाको शिक्षा ऐन २०७८ को दफा ९ को उपदफा घ अनुसार २ जनालाई सदस्य मनोनयन गरेको हो । उक्त उपदफामा नगरसभा सदस्य मध्येबाट कम्तीमा १ जना दलित सदस्यसहित २ जनाको सदस्य रहने व्यवस्था रहेको छ । सोही अनुसार बैठकले दलित सदस्यमा वडा नं ७ की सदस्य डेकुमारी बिक र वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोलाई शिक्षा समितिको सदस्यमा मनोनयन गरेको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए ।
यो निर्णयमा भने कार्यपालिका सदस्य विकास भाटीले असहमति प्रकट गरेका छन् । कार्यपालिकाले २ सदस्यको नाम ताली बजाएर पारित गर्दैगर्दा उनले आफ्नो नोट अफ डिसेन्ट रहेको प्रतिक्रिया दिएका थिए । अभिभावक परिवार संघमार्फत शिक्षा क्षेत्रको विकृतिहरुबारे निरन्तर खबरदारी गरिरहेका भाटी आफै पनि शिक्षा समितिमा रहन चाहेका थिए । यसअघि मेयर हर्क साम्पाङले मनोनयन गर्नसक्ने २ जना सदस्यमा कार्यपालिका सदस्यद्धय दिनेश गजमेर र विनिता बज्रचार्यलाई मनोनित गरिसकेका थिए ।
यस्तै, नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई केही संशोधन गरेर पनि बैठकले पारित गरेको प्रवक्ता भट्टराईले जानकारी दिए । ‘नदीजन्य पदार्थ आफ्नो नगरभित्र मात्र प्रयोग गर्ने गरि कार्यविधि बनाइएको छ, त्यो पारित भयो । मुख्य यी दुई एजेण्डा थिए,’प्रवक्ता भट्टराईले भने,‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको धरानका जनताले अपेक्षा गरेजस्तो, धरानलाई माया गर्ने, मनपराउने, विकास र समृद्धि चाहने सबैले चाहेको, खोजेको जस्तो बैठक भएको छ ।’
प्रवक्ता भट्टराईका अनुसार बैठकले धरानका जनप्रतिनिधिहरुलाई आआफ्नो कमीकमजोरी स्वीकार गरी एकतावद्ध भएर जाने र धरानलाई विधि पद्दतीमा अगाडि लिएर जाने प्रण गरेको छ । मेयरले अभिभावकीयरुपमा कार्यपालिका सस्दयहरुले उठाएको मागहरुलाई सम्बोधन गरेको र हिजोका निर्णयहरु फिर्ता लिएर एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएको पनि उनले बताए । ‘केही विधि र पद्दतीको कुरा थियो, केही स्वभावजन्य कार्यशैलीका कुरा थिए । हाम्रो आफ्ना स्वाभिमानका प्रश्न थिए । ती सबै कुरालाई छोडेर एक एक कदम पछाडि सरेर नगर कार्यपालिका सदस्यहरुले उठाएका मागहरु छन्, त्यसलाई मेयर साबले अभिभावकत्वकोढंगले सम्बोधन गर्नुभएको छ,’प्रवक्ता भट्टराईले भने,‘हिजोका निर्णय फिर्ता लिएर कमजोरीकोरुपमा लिएर अब एकतावद्ध भएर साच्चै अभिभावकको भुमिका निर्वाह गर्छु भन्नुभएको छ । हामीले पनि उहाँलाई अभिभावककोरुपमा आदर र सम्मान सहित जनताको जनमत अनुसारको सहयोग गरेर धरानलाई विकास र समृद्धिको पथमा अघि बढाउनको निमित एकतावद्ध भएर जाने प्रण गरेका छौं ।’