धरान: प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ सुनसरीलाई मेयर हर्क साम्पाङले औपचारिकरुपमा छलफलको लागि बोलाएका छन् ।
महासंघ अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रधमा मेयर साम्पाङले आन्दोलन गर्नुपर्ने असन्तुष्टि र असहमतिको बिषय लिएर छलफलमा उपस्थित भइदिन अनुरोध गरेका छन् । पत्रमा छलफल आइतबार दिउसो १ बजे नगर प्रमुखको कार्यालयमा हुने पनि उल्लेख छ । पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईले मेयर साम्पाङबाट छलफलको लागि पत्राचार हुनु सकरात्मक भएको प्रतिक्रिया दिए । उनले आइतबार छलफलमा जाने पनि बताए । यो सकरात्मक छ । मेयर साब जिम्मेवार भएर देखिनुभएको छ । हामी छलफलमा जान्छौं, उनले भने ।
आलोचनात्मक समाचार लेख्दा र प्रश्न गर्दा कुन पार्टीको पत्रकार भनेर उल्टै प्रश्न गर्ने साथै सामाजिक सञ्जालमा पार्टीको झोले पत्रकार भनेर मेयर साम्पाङले गाली गर्ने र उनका समर्थकहरुले पनि गालीगलौज, धाकधम्की दिने गरेका छन् । यसले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको साथै पत्रकारहरु असुरक्षित भएको निष्कर्ष निकाल्दै मेयर साम्पाङविरुद्ध पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरु आन्दोलित छन् ।